सिन्डिकेटविरुद्ध सरकारले इतिहासकै कडा कदम चाल्यो - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

सिन्डिकेटविरुद्ध सरकारले इतिहासकै कडा कदम चाल्यो



काठमाडाैं । सिन्डिकेटविरुद्ध उभिएको यातायात व्यवस्था विभागले सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ ।

यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो ।

सरकारले सिन्डिकेट मान्दैनौं भने पनि देशभरका सार्वजनिक यातायातमा अघोषित सिन्डिकेट कायमै छ । तर, पछिल्लो पटक अरनिको राजमार्गमा सिन्डिकेट तोडिएको छ ।

मयुर यातायातले काठमाण्डु–बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा समितिले विरोध गरेका थिए । उनीहरुले सिन्डिकेट कायम राख्न सवारी नै बन्द गरेर आन्दोलन गरेका थिए ।

तर, सरकारले उनीहरुको आन्दोलनका सामू झुक्नुको साटो थप कम्पनीलाई रुट अनुमति दिएपछि सिन्डिकेट तोडिएको छ ।यसबाट हौसिएको विभागले देशभरका सडक पनि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

शुक्रबार मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिए ।

‘यो ऐनमै भएको व्यवस्था हो । अब कुनै पनि रुटमा जो जान चाहे पनि रोकिने छैन’ महानिर्देशक भट्टराईले भने, ‘स्वच्छ प्रतिस्पर्धाका लागि सबै रुटमा इजाजत खुला गर्न लागेका हौं । अब देशभर नै सिन्डिकेट तोड्नुपर्छ ।’

अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट नरोकिने उनले बताए । ‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ । कसैले विरोध गर्दैमा सिन्डिकेट राख्न सकिन्न’ विभागका महानिर्देशक भट्टराईले भने, कुनै पनि रुटमा अरुलाई निषेध गरेर आफ्नो मात्र सवारी चलाउने दिन सकिए ।’