शोकमा डुब्यो सिन्धुपाल्चोक: कसैले गुहार सम्म माग्न पाएनन्
काठमाडौं– मध्यरातमा सबै सुतेको बेला आएको भिषण पहिरोले सिन्धुपाल्चोक शोकमा डुबेको छ। सिन्धुपाल्चोकमा बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको भीषण बाढी र पहिराेले पुरै गाउँ सखाप बनाएपछि सुतेका मानिसले गुहार सम्म माग्न पाएनन् ।
बाटो अवरुद्ध भएकाले अहिलेसम्म उद्दारको काम सहज हुन सकेको छैन । मध्यरातमा भएको प्राकृतिक वितण्डाले कम्तिमा २० घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ। अन्य गाउँले बेपत्ता भएका छन् ।
बाह्रबिसे नगरपालिकामा मेयर निमफुन्जी शेर्पाका अनुसार बाढीले नगरपालिकाको वडा नम्बर ३ र ५ को बीचमा रहेको पक्की पुलमा समेत क्षति पुर्याएको छ । त्यहाँको सडकसमेत बगाएको उनले बताए । उक्त स्थानमा करिब १२ घर बगाएको समेत उनले जानकारी थिए।
यस्तै, वडा नम्बर ५ र ८ को बीचमा रहेको ठाडो खोलमा आएको बाढीले ८ वटा घर बगाएको जानकारी आएको उनले बताए। त्यहाँ २ जनाको शव भेटिएको र १८ जना बेपत्ता भएको उनले जानकारी दिए।
घटनाबारे सभामुखदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई जानकारी दिइएको उनले बताए। यस्तै, सबै जनप्रतिनिधिलाई उद्दारमा खटिन पनि नगरपालिकाले निर्देशन दिएको छ।