सिन्धुपाल्चोक पहिरो अपडेट: गाउँ नै शोकमा डुब्यो, उद्दारका लागि हेलिकप्टर लगियो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

सिन्धुपाल्चोक पहिरो अपडेट: गाउँ नै शोकमा डुब्यो, उद्दारका लागि हेलिकप्टर लगियो



काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान भीषण पहिरो खसेको छ। पहिरोले गाउँ नै बगाएको छ भने ठुलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ

जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको हो । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले पुरै गाउँ नै शोकमा डुबेको छ ।

पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा आएर बसेका छन् ।

भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

स्थानीयहरु उद्धार गर्न जानसक्ने अवस्थामा छैनन् । नजिकै कुनै गाउँ नभएको र प्रहरीपनि पुग्न नसकेकाले उद्धारमा समस्या भएको अध्यक्षले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले घटनास्थल पुग्न समय लाग्ने बताए ।

उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्षले बताए ।

पहिरोमा कम्तीमा २२ घर पुरिएका छन् भने केही थप घर जोखिममा परेका छन्।

पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थलतर्फ जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी गराएका छन्।