अपडेट: सिन्धुपाल्चोकमा पहिरोले गाउँ नै बगायो, प्रहरी पुग्नै कठिन
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्षले जानकारी दिए ।
पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा आएर बसेका छन् ।
भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भइरहेको छ ।
स्थानीयहरु उद्धार गर्न जानसक्ने अवस्थामा छैनन् । नजिकै कुनै गाउँ नभएको र प्रहरीपनि पुग्न नसकेकाले उद्धारमा समस्या भएको अध्यक्षले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले घटनास्थल पुग्न समय लाग्ने बताए ।
उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्षले बताए ।
घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको छ । थप विवरण आउन बाँकी