सिन्धुपाल्चोकमा बेपत्ता २० जना अझै भेटिएनन् - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

सिन्धुपाल्चोकमा बेपत्ता २० जना अझै भेटिएनन्



सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बुमा बुधबार राति गएको बाढी–पहिरोमा बेपत्ता भएका २० जना अझै फेलापरेका छैनन् ।

लगातारको वर्षाले सडक अवरुद्ध भएका कारण उनीहरूको खोजीमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

स्थानीयको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको छ । बाढी–पहिरोमा परी ३७ परिवार विस्थापित भएका छन् ।

यता, बिहीबार भोटेकोसी गाउँपालिका–३, लार्चामा गएको पहिरोमा परेर बेपत्ता भएका एकजना सामान्य घाइते अवस्थामा फेलापरेका छन् ।

पहिरोले पुरेको आशंका गरिएका सोही ठाउँका नाक्चे मगर सामान्य घाइते अवस्थामा फेलापरेका हुन् ।

सो ठाउँमा पहिरोमा परी विस्थापित भएका करिब १५० जनालाई तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयमा राखिएको छ ।

पहिरोमा परी विस्थापित भोटेकोसी–५, बन्जीका चार परिवार पनि आफन्तकोमा बसेका छन् ।

यता, अरनिको राजमार्गको जुरे पहिरोनजिकै भोटेकोसी नदीले सडक कटान गरेको स्थानमा वैकल्पिक मार्ग निर्माण भएको छ ।