सिँचाइ आयोजनाको काम सुस्त गतिमा
कपिलवस्तु । कपिलवस्तुमा सञ्चालित मझौला सिँचाइ आयोजनाअन्तर्गत एक वर्षअघि देखि सुरु भएका अधिकांश सिँचाइ आयोजनाको काम कछुवा गतिमा चलेको छ । सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जिल्लामा कुल १० वटा सिँचाइ आयोजनाहरू सञ्चालित छन् । जसको कुल लागत ५० करोडको हाराहारीमा रहेका छन् । तर डिभिजन प्रमुख राजेन्द्र महतोले भने एक दुई वटा आयोजननाबाहेक अरू योजनाहरू सन्तोषजनक ढङ्गले चलेको दाबी गरे । उनले नै चालु आर्थिक वर्षको ८ महिनामा भौतिक प्रगति भने २५ प्रतिशतको हाराहारीमा रहेको बताए ।
‘कुनै स्थानीयबासीको अवरोधले निर्माण कार्य रोकिएका छन् भने कुनै ढिलागरी सुरु भएको छ,’ उनले भने । अधिकांश योजनाहरू गत वर्ष टेन्डर भई यस वर्षदेखि सुरु भएका छन् । तत्कालीन फुलिका गाविसमा रहेको नग्दरिया सिँचाइ आयोजना अहिले सम्म सुरु नै हुन सकेको छैन । दुई वटा छुट्टा छुट्टै प्याकेजमा निर्माण सुरु गर्ने तयारीमा रहेको आयोजना फुलिकाको छिमेकी गाउँँ वनगाई डिहिीका गाउँँलेहरूले विरोध गरेपछि रोकिएको डिबिजन प्रमुख महतोले बताए । ‘ दुई गाउँको आपसी विवादले सिँचाइ आयोजना २ महिना देखि अवरुद्ध बनेको छ ’ उनले भने । ४ सय ५० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने उद्देश्यका साथ आयोजनाको काम थालिएको हो ।
पहिलो फेजको २ करोड ३२ लाको काम आशिष् कयुक्सन धनगढी तथा दोस्रो फेजको १ करोड ३० लाखको काम मुहान सिट प्लाई जेभीले लिएका छन् । सो परियोजना अन्तर्गत उपभोक्ता समितिका अध्यक्ष हलिम मुसलमानले बनागाई डिहीका स्थानीयबासीको विरोधले आयोजनाको काम अघि बढ्न नसकेको बताए ।
‘वनगाई गाउँका स्थानीयले आफ्नो गाउँसम्म नै सिँचाइ लग्नुपर्छ भन्दै काम रोकेका छन्,’ उनले भने । सो आयोजनाको सर्भे डिजाइनअनुसार काम थालिएको उनले बताए । बनगाई सम्म लिफ्टबाट पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि वनगाईकाले नमाने पछि काम अघि बढ्न नसकेको डिभिजन प्रमुख महतोले बताए । सो आयोजना सुचारु गर्न सांसद चक्रपाण्ी आर्याल, अतहर कमाल र काँग्रेस नेता दीप कुमार उपाध्यायले पहल गरे पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
‘हामीले दुवै पक्षलाई मिलाएर काम चाँडो सुरु गराउनका लागि पहल गरेका छौँ’, सांसद कमालले भने । सो आयोजना २०७४ पुस ११ भित्र सम्पन्न गर्नु पर्ने गरी सम्झौता गरिएको छ । बाणगंगा नगरपालिमा रहेको प्रगति नगरमौजा प्रथम फेजको आयोजनाको काम पनि सन्तोषजनक देखिएको छैन ।
८ सय हेक्टर सिँचाइ गर्ने लक्ष्यका साथ ५ करोड १४ लाखको आयोजनाका काम अझैसम्म १० प्रतिशतको मात्र भएको छ । निर्माण कम्पनी राजेन्द्र आशिष जेभीले सो काम पाएको छ । दोस्रो फेजको ४ करोड ७३ लाखको आयोजनाको काम भने आधा सकिएको छ । बावुल राजना जेभीले लिएको काम समयमै सकिने सिँचाइ डिभिजन कार्यालयले दाबी गरेको छ । दुवै फेजको काम आगामी वर्षको असोज १७ भित्र सम्पन्न गर्नु पर्ने गरी सम्झौता भएको छ । ७ सय हेक्टर सिँचाइ गर्ने गरी सुरु भएको ७ करोड ३५ लाखको सिँचाइ आयोजनाको काम १० प्रतिशत मात्र भएको छ । ३ सय हेक्टर सिँचाइ गर्ने उद्देश्यले थालिएको लम्तीया सिँचाइ आयोजनाको समेत १० प्रतिशत मात्र भएको छ । नौ सय हेक्टर सिँचाइ गर्ने गरी सञ्चालनमा रहेको दुवै फेजको सिँचाइ आयोजनाको काम भने अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख महतोले बताए ।
पहिलो फेजको २ करोड ८५ लाख र दोस्रो फेजको २ करोड ९० लाख लागत छ । ८ करोड ८६ लाखको भुताहा सिँचाइ आयोजना दोस्रोको निर्माण कार्य भने सम्पन्न भइसकेको छ । सो आयोजाले ७ सय १५ हेक्टरमा सिँचाइ सुविधा बिस्तार हुनेछ ।
उता बुद्धभूमि नगरपालिमा रहेको गुडरुङ खोला सिँचाइ आयोजना भने पुरा नहँुदै रोकिएको छ । प्रथम फेजको ३ करोड ५० लाखको काम सम्पन्न भए पनि दोस्रा चरणको काम भने रोकिएको छ । त्यहाँ बाँध निर्माणको काम सम्पन्न भएको छ । वन क्षेत्रमा परको भन्दै वन कार्यालयले नहर निर्माणको काम रोकेकापछि आयोजना नै रोकिएको प्रमुख महतोले बताए । जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन मध्ये ४४ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको छ ।