सीमानामा भिडन्त: एक प्रहरी र आठ भारतीय तस्कर घाइते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सीमानामा भिडन्त: एक प्रहरी र आठ भारतीय तस्कर घाइते



जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमानाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् ।

मटिहानीमा अवस्थित २ नम्बर बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायताकक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।

बोर्डर आउट पोस्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदिरा खाएर एक्कासि २ नम्बर बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । करिब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुंगामुढाबाट डियुटीमा खटेका सशस्त्र प्रहरीजवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोसाक (चुस्ता) समेत ढुंगामुढा गर्नेहरुले च्यातिदिएका छन् ।

यता, भारतीय व्यापारीका अनुसार बीओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायत वस्तुहरु नेपाल ल्याउन सुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठीचार्ज गरेका थिए ।

सशस्त्र प्रहरीको लाठीचार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरुले आफूहरु महिनाबारी (महिनामा एकैचोटि) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् ।

त्यसैगरी, स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुंगामुढा गरेको बताएका छन् । रासस