सीमा विवाद पुर्नवासको मात्र नभएर देशकै समस्या: भौतिक पूर्वाधार मन्त्री बोहरा - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

सीमा विवाद पुर्नवासको मात्र नभएर देशकै समस्या: भौतिक पूर्वाधार मन्त्री बोहरा



विशाल पाण्डेय
पुर्नवास , कञ्चनपुर ।

प्रदेश नं ७ का भौतिक तथा पूर्वाधार मन्त्री पठान सिंह बोहराले सीमा विवादको समस्या पुर्नवासको मात्र नभएर पुरै देशको समस्या रहेको बताउनु भएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका – ४ मा शनिवार शहीद गोविन्द गौतमको प्रथम स्मृति सभाको प्रमुख अतिथिको रूपमा कार्यक्रममा बोल्दै प्रदेश नं ७ का भौतिक तथा पुर्वधार मन्त्री बोहराले सीमा विवाद देशकै समस्या रहेको बताउनु भएको हो ।

“सीमा नाकालाई व्यवस्थित नगर्दा असहज वातावरण सिर्जना भई आफ्नो सिमानाको सुरक्षाको लागि पटक पटक लड्नु पर्ने भएकाले दुखदायी घटना रहेको मन्त्री बोहराले बताउनु भयो । ” नेपालभारत सीमा विवाद भनेको सामान्य विवाद होइन यो दीर्घकालीन समस्याको रूपमा भएकाले , यो क्षेत्रका विवादलाई प्रदेश सरकार र केन्द्रीय सरकारले कूटनैतिक तबरले समाधान गर्नु पर्ने र त्यसतर्फ सरकारलाई ध्यानाकर्षण भएको जानकारी गराउनुभयो “।

भारतको परनिर्भरताका कारण सीमाक्षेत्र नजिक बसोबास गर्ने नेपाली नागरिकहरू सामान्य कामकाजका लागिपनि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेकाले आवश्यक सेवासुविधा नेपाली बजारमा नै उपलब्ध गराई आत्मनिर्भर बनाउन सकेको खण्डमा यस्ता घटनामा न्युनीकरण हुने विश्वास समेत व्यक्त गर्नुभयो । त्यस्तै मन्त्री बोहराले पुर्नवासको विकासका लागि सीमा समस्या ,सडक ,सिँचाइ ,खानेपानी लगायतका समस्याहरूको विशेष प्राथमिकतामा राखेर योजना बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका आसनबाट बोल्दै कञ्चनपुर क्षेत्र नम्बर १ का निर्वाचित प्रदेशसभा सांसद तारालामा तामाङले पटक पटक सीमा विवाद भएकाले बौडरलाइ सर्वेक्षण गरी वैज्ञानिक ढङ्गले व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
सीमा समस्या यथाशीघ्र समाधान गर्न केन्द्र सरकार र प्रदेश सरकार समक्ष जोडदार पहल भइरहेको जानकारी गराउनुभयो । उहाँले सीमा सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभयो । यसैक्षेत्रबाट निर्वाचितभएकाले पनि सीमा समस्या समाधान देखि यस क्षेत्रको प्रत्यक्ष समृद्धिका लागि आफू सदैव प्रयासरत रहेको बताउनुभयो । त्यस्तै सांसद तामाङले सहिद गौतमको स्मृतिमा प्रतिष्ठान बनाउनु पर्ने बताउनु भयो ।

शहीद गोविन्द गौतमको प्रथम स्मृति कार्यक्रम पुर्नवास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सभापति थापाले सहिद पत्नी लक्ष्मी गौतमलाई यही चैत महिना देखि रोजगारीको व्यवस्था गरिने जानकारी गराउनुभयो । ” कूटनैतिक तवरबाट सीमा समस्या समाधान हुनुपर्ने भएकाले आफूले पटकपटक केन्द्र सरकार र प्रदेशसरकारलाई ध्यानाकर्षण गराएको थापाले बताउनुभयो ।

कार्यक्रममा सीमा सुरक्षा सङ्घर्ष समितिका अध्यक्ष चन्द्रमणि गैरे , नेपाली काँग्रेस क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्याय, नगरसभापति यम प्रसाद पौडेल, माओवादी केन्द्रका नेता कन्चन गिरी, उद्योग वाणिज्य सङ्घ पुनर्वासका वरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझी, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानीय नृत्यकार अमन कुवेरको ग्रुपले दुई सहिद गीतमा नृत्यप्रस्तुति समेत दिएका थिएभने सरकारबाट सम्मानप्राप्त कविवर दिनानाथ बराल, गणेश कौडिन्य र रामचन्द्र नेपालले सहिद गौतमलाई स्मरण गर्दै कविता वाचन गर्नुभएको थियो ।

सहिद गोविन्द गौतम सीमासुरक्षा सङ्घर्ष समिति र पुनर्वास नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्वागतमन्तव्य समितिका अध्यक्ष चन्द्रमणि गैरेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सदस्य प्रकाश गैरेले गर्नुभएको थियो ।

कल्भर्ट निर्माणमा विवाद हुँदा ०७३ फागुन २६ गतेका दिन नेपालभारत सीमाक्षेत्र आनन्दबजार घटनामा भारतीय सुरक्षाकर्मीको गोली लागि पुनर्वास नगरपालिकाका गोविन्द गौतमको ज्यान गएको थियो ।

पत्रकार तथा सहिद परिवारलाई सम्मान

कार्यक्रममा सीमाक्षेत्रमा खटिएर समाचार सङ्कलन गरेको प्रति आभारव्यक्त गर्दै तीन पत्रकारहरू हेमन्त न्यौपाने , किशोर तामाङ र केशव भट्टराईलाई दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

त्यसै सहिद गोविन्द गौतमका बुवा खेमलाल गौतम , आमा हरिदेबी गौतम , श्रीमती लक्ष्मी गौतम तथा घाइते टिकाराम चापागाईंलाई प्रमुख अतिथि प्रदेश नं ७ का भौतिक तथा पूर्वाधार मन्त्री पठान सिंह बोहराले प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।