अभिनेत्री सुष्मा कार्कीको अर्कै धन्दा: फिल्म नखेली लाखौँ कमाउछिन - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

अभिनेत्री सुष्मा कार्कीको अर्कै धन्दा: फिल्म नखेली लाखौँ कमाउछिन



काठमाडौं । अभिनेत्री सुष्मा कार्की फिल्मीनगरीमा बेरोजगार छिन् । बेलामौका एकाध फिल्मको आइटम गीतमा नाच्न पाउनु पनि उनको भाग्य जस्तो बनेको छ । न उनी म्युजिक भिडियोमै व्यस्त छिन् । उनको हातमा फिल्म नभए पनि काठमाडौं बसाई बेजोड खर्चिलो छ, किनभने साथमा छन्– लखपति ।

घटना केही पुरानो भए पनि कार्कीको उठबस लखपतिहरूसँग रहेको जानकारी सार्वजनिक भयो, त्यो पनि क्यासिनो काण्डका विवरणहरूसँगै । अभिनय गर्ने असली ठाउँ नपाएपछि भर्चुअल विश्व मध्येको टिकटकमा व्यस्त रहेकी कार्की जीवनशैली ठिकठाक चलिरहेको छ । र, उनको यो ठिकठाकमा सहयोग गरिरहेका छन्, कविन शाक्यले ।

गाडी किनबेचको व्यापार गर्ने, पैसा ऋणमा लगाउने शाक्य एकाध काण्डमा विवादमा पनि तानिएका थिए । उनैसँग कार्कीको अहिले गतिलो उठबस रहेको प्रमाणचाहिँ– महानगरीय प्रहरी परिसर ललितपुरमा शाक्यलाई छुटाउन जमानी बस्नु हो ।

‘उनीहरूको सम्बन्ध कस्तो छ त्यसबारे थाहा भएन । तर, कार्की जमानी बसेर शाक्यलाई प्रहरी थानाबाट छुटाएको साँचो हो’, एक प्रहरी अधिकारी भन्छन्,‘हामीले पनि कार्कीको जमानीका आधारमा छाडेका हौं ।’

शाक्य क्यासिनोमा जितेको पैसा विवादका कारण पक्राउ परेका नेपाली मूलका भारतीय नागरिकका कारण प्रहरीसम्म पुगेका थिए ।

भारतीय नागरिक लाक्पा शेर्पा, सुमन भण्डारी र युवराज गुरुङको विवादका क्रममा शाक्य जोडिएका थिए ।

पक्राउ परेका शेर्पा र बरामद रकमसहित ललितपुर प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा दायरका लागि पठाइसकेको थियो । भिभान्ता होटल झम्सिखेलमा भएको लफडाका कारण उनीहरू पक्राउ परेका थिए ।

क्यासिनोमा भारतीयलाई ओसारपसार गर्ने गाडी शाक्यको थियो । सोही कारण उनी पक्राउ परेका बताइयो । तर, उनको पक्राउसँगै खुल्यो सुष्मा कार्कीको सरसंगत ।

शाक्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी र अपराध अनुसन्धान महाशाखाको छानबिनको दायरामा पनि परिसकेका व्यक्ति हुन् । सीआइबीले पाँच ठूला डनको अकुत सम्पत्ति खोजेर मुद्दा चलाउने क्रममा शाक्य पनि परेका थिए ।

सीआईबीले मिटरव्याजको धन्दा चलाउने वीरेन्द्रलाल श्रेष्ठ, कबिन शाक्य, अरुण सेडाई, तेजेन्द्र गुरुङ, काभ्रेली समूहका छोटा डन बिष्णु लामा, दावा लामा, अजय श्रेष्ठ लगायतको अबैध सम्पत्तिमाथि छानविन गरेका विवरणहरू छन् ।