सुशान्त प्रकरण: सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सुशान्त प्रकरण: सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर



एजेन्सी- बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ।

बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ।

ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।

वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन्। यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्।

अभिनेता सुशान्तसिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए। उनी लामो समयदेखि डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।