श्रीलंकामा सेना र प्रहरीलाई राजीनामा दिन आदेश - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

श्रीलंकामा सेना र प्रहरीलाई राजीनामा दिन आदेश



कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई आदेश दिएका छन् ।

देशका विभिन्न ठाँउमा भएको विस्फोटनमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिएका हुन् ।

राष्ट्रपति सिरिसेनाले घटना लगत्तै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश दिनुभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनले मंगलबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दा पनि सुरक्षा निकायका प्रमुखहरुलाई परिवर्तन गर्ने संकेत गरेका थिए ।

विनाशकारी घटनालाई नियन्त्रण गर्न सकिने अवस्था हुँदाहँुदै पनि सुरक्षा प्रमुखहरुको लापर्वाहीका कारण घटना भएको ठहर गर्दै उनीहरुलाई परिवर्तन गर्न लागिएको हो । श्रीलंकाको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा गत भएका शृंखलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या ३५९ जना पुगेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएका थिए ।

यस्तै राजधानीका पाँचतारे होटल सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो ।

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशंका गरेको छ । यो समूहलाई अन्तरराष्ट्रिय आतंकवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलंका सरकारको अनुमान छ ।