श्रीलंकामा बेहाल: पेट्रोलको लाइन बस्दा तीन जनाको मृत्यु - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

श्रीलंकामा बेहाल: पेट्रोलको लाइन बस्दा तीन जनाको मृत्यु



श्रीलंकामा पेट्रोल डिजेल किन्ने क्रममा लाइनमा उभिएका तीन जनाको मृत्यु भएको छ। चर्को घाममा घण्टौं लाइन बस्न बाध्य भएर तीन वृद्धको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यले लेखेका छन्।

यस घटनापछि श्रीलंकाका पेट्रोलपम्पमा सेना तैनाथ गरिएको छ। सेना परिचालन भएपछि स्थितिमा सुधार आउने त्यहाँका अधिकारीहरूले विश्वास गरेका छन्।

त्यस्तै सोमबार नै इन्धन लिन बसेका एक व्यक्तिमाथि छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। तीनपाङ्ग्रे सवारी साधनका चालकसँग विवाद भएपछि घटना भएको हो।

कतिपयको ज्यान समेत गएको छ। त्यहाँको अवस्था अहिले यति बिग्रिएको छ कि श्रीलंका सरकारले पेट्रोल पम्प र ग्यास स्टेशनहरूमा सेना तैनाथ गर्ने निर्णय गरेको छ।

श्रीलंका यतिबेला आर्थिक संकटबाट गुज्रिरहेको छ। त्यहाँ अत्यावश्यक वस्तुको मूल्य आकाश छुन थालेको छ। डिजेल–पेट्रोल र ग्यासको अवस्था झन् गम्भीर बन्दै गएको छ।

श्रीलंकामा डिजेल र पेट्रोलको मूल्य मात्रै बढेको छैन, अभाव पनि भएको छ। जसका कारण पेट्रोल पम्पमा लामो लाइन लागेको छ। तेल किन्न हजारौं मानिस घण्टौं लाइनमा बसेका छन्।

श्रीलंकाली सेनाका प्रवक्ता निलान्था प्रेमरत्ने अवस्था बिग्रन नदिन सेनाले तेल वितरणमा मात्रै सहयोग गर्ने बताए। उनले देशका सबै पेट्रोल पम्पमा कम्तीमा २-२ जना सेना परिचालन गरिने बताए।