श्रीलंका विस्फोटको पहिल्यै जानकारी भएको खुलासा - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

श्रीलंका विस्फोटको पहिल्यै जानकारी भएको खुलासा



एजेन्सी । श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध विस्फोटमा परेर २०७ जनाको मृत्यु भएको छ भने घटनामा संलग्न भएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । सिंगो श्रीलंका आज शोकमा डुबेको छ ।

श्रीलंका सरकारले आइतबारको घटनाको षडयन्त्र विदेशमा भएको आरोप लगाएको छ । आइतबारको घटनामा ४५० भन्दा बढी घाइते भएका छन् । इसाई समुदायको इस्टर पर्वको सन्दर्भ पारेर गराइएको विस्फोटले श्रीलंका एकाएक तहसनहस हुन पुगेको छ ।

स्थानीय चर्च र होटलमा गरी आइतबार ८ वटा विस्फोट भएका थिए । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आइतबारको घटनाका १३ जना मानिस पक्राउ परेको र पक्राउ पर्ने सबै श्रीलंकाकै नागरिक भएको बताएका छन् ।

उनीहरुसँग विदेशी आतंककारी संगठनसँगको सम्पर्क भए नभएको जाँचबुझ गर्ने काम भइरहेको बताइएको छ । यो समाचार तयार पारिँदा सम्म पनि कसैले घटनाको जिम्मेवारी लिएको छैन । प्रधानमन्त्रीका अनुसार यसप्रकारको घटनाको बारेमा प्रहरीलाई पहिल्यै जानकारी भएपनि मन्त्रिमण्डललाई जानकारी दिइएको थिएन । हमलापछि श्रीलंकामा अहिले कर्फयू जारी गरिएको छ ।

सोसल मिडिया पनि अहिले प्रतिबन्धित छ । श्रीलंकाका रक्षामन्त्री आर बिजयवर्धनले आइतबारको घटना आत्मघाती हमला भएको र खुफिया एजेन्सीले हमलाको बारेमा सूचित गरेको भएपनि रोक्न नसकिएको जनाएका छन् । उनले नै आक्रमणको षडयन्त्र विदेशमा बताएका हुन् ।

खुफिया रिपोर्टमा चार प्रकारले आक्रमण हुन सक्ने बताइएको थियो । आत्मघाती बम आक्रमण हुन सक्ने, हतियारबाट हमला हुन सक्ने, चक्कू प्रयोग गरेर आक्रमण हुन सक्ने र विस्फोटक पदार्थ बोकेका ट्रक प्रयोग गरेर आक्रमण हुन सक्ने जनाइएको थियो । खुफियासँग यो जानकारी भएपनि प्रधानमन्त्रीलाई भने यो जानकारी नदिइएको बताइएको छ । सो रिपोर्टमा केही संगठनको नाम पनि दिइएको बताइएको छ । यसबारेमा सम्पूर्ण खुलासा भोलि साँझ सम्ममा भइसक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

श्रीलंकामा धर्मावलम्बीको अवस्था
श्रीलंकामा इसाई धर्माबलम्बी अल्पसंख्यक अवस्थामा छन् । इस्टरको उपलक्ष्यमा आइतबार भेला भएका मानिसहरु सो घटनामा परेकाले हताहतीको संख्या बढी भएको हो । श्रीलंकाको द्वन्द्वपछि शान्तिको अवस्था कमजोर भएको पाइएको छ । २१ दशमलब ४ मिलियन श्रीलंकाको जनसख्यामा इसाई धर्माबलम्बी १० प्रतिशत भन्दा कम छन् ।

जनगणनाको तथ्यांकअनुसार ७० दशमलब २ प्रतिशत बौद्धमार्गी, १२ प्रतिशत हिन्दु, ९ दशमलब ७ प्रतिशत मुश्लिम र सबैभन्दा कम ७ दशमलब ४ प्रतिशत इसाइ छन् । ८२ प्रतिशत रोमन क्याथोलिक इसाई श्रीलंकामा छन् । मुख्य रुपमा रहेको जाती सिंहाली र तमिल टाइगर्सबीच विगतमा २५ वर्ष लडाई भएको थियो । तमिल टाइगर्सलाई अमेरिका लगायतका राष्ट्रले आतंककारी घोषणा गरेका थिए । त्यसक्रममा ७० हजार मानिस मारिएका थिए । सन् २००९मा तमिल टाइगसलाई राज्यले सखाप पारेको थियो । त्यसमा सर्बसाधारणपनि परे भनेर तत्कालीन राष्ट्रपति महेन्द्रा राजपाक्षेविरुद्ध विश्वका विभिन्न भागमा मानवअधिकार सम्बन्धी उजुरी परिरहेका छन् । त्यसको छिनोफानो भइसकेको छैन ।

आइतबारको बम बिस्फोटमा कस्को हात छ भन्ने कुरा प्रष्ट भएको छैन । ८ वटा क्षेत्रमा सो आक्रमण भएको थियो । चर्च र होटलमा आक्रमण गरिएका छन् । श्रीलंकाले युद्ध सकिएको १० औं वर्षगाँठ मनाउन लागेको अवस्थामा यो आतंक मच्चिएको हो । १० औं वर्षगाँठ मनाउने समय आउन १ वर्ष मात्रै बाँकी रिहेको थियो ।

श्रीलंकाको डेमाटागोडामा घरमा छापा मार्ने क्रममा बम विस्फोट भएर तीन जना प्रहरीपनि मारिएका छन् । प्रहरी प्रवक्ता रुवान गुणशेकरका अनुसार आक्रमणमा मानिसहरु मारिएपछि केही घरमा पसेर प्रहरीले सोद्धैगर्दा विस्फोट भएर उनीहरुको मृत्यु भएको हो । दुई जना सब इन्सपेक्टर र दुई जना प्रहरी यो घटनामा मारिएका छन् । एक जना कन्स्टेबललाई उपचारका लागि अस्पतालमा लगिएको छ ।

श्रीलंका बहुधार्मिक, बहुजातीय र बहुसंस्कृति भएको मुलुक हो । आइतबारको घटनापछि साँझको इस्टरको कार्यक्रम स्थगनको घोषणा गरिएको थियो ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आधारित)