इजलासमा रमण श्रेष्ठको तर्क- धारा ७६ (५) संसद् जोगाउने ‘ब्रह्मास्त्र’ हो
काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजालसमा अहिले संसद विघटनविरुद्धको मुद्दामा सुनुवाई भैरहेको छ । आज दोस्रोदिन पनि पक्षका वकिलहरूले बहस गरिरहेका छन् । संसद् विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा आज दोस्रो दिन पनि बहस जारी रहेको हो ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपालको संविधानको धारा ७६ (५) संसद् जोगाउने ‘ब्रह्मास्त्र’ भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बिहीबार बहस गर्दै उनले ७६ (३) अनुसार पनि संसद् जोगाउन नसकेपछि सांसदहरू स्वतन्त्र हुने र संसद् र संविधान रक्षाका लागि काम गर्न सक्ने बताए ।
“नेपालमा अहिलेसम्म अल्पमतको सरकार तीनपटक बनेका छन् । मनमोहन अधिकारीको, सूर्यबहादुर थापाको र लोकेन्द्रबहादुर चन्दको । ती सरकार टिक्न सकेनन् । अल्पमतका सरकार चल्न सक्दैन भनेर नै संविधानमा धारा ७६(५) राखिएको हो,” उनले भने ।
उनले थपे, “राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति आफ्नो स्वविवेकीय अधिकार हो भन्दै हुनुहुन्छ । यो स्वेच्छाचारिताको उदाहरण हो ।”
निवेदकका तर्फबाट हिजो वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव र शम्भु थापा तथा अधिवक्ताहरु खम्बबहादुर खाती र गोविन्द्रप्रसाद शर्मा बन्दीले बहस गरेका थिए ।
निवेदकका तर्फबाट १५ घण्टा बहस गरिनेछ । त्यसपछि प्रतिवादीका तर्फबाट पनि १५ घण्टा नै बहस गरिनेछ । एमिकस क्युरीका चारजनाले आफ्नो राय दुई घण्टाभित्र राख्नेछन् । त्यसपछि सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।