नारायणकाजीको स्पष्टिकरण: दुवै कुरा सत्य होइनन्, भ्रममा नपरौं
काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पास नगरे गठबन्धन तोडिन्छ भनेर नभनेको दाबी गरेका छन् ।
शनिबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी पारित नगरे गठबन्धन तोडिन्छ भनेको भन्दै समाचारहरु बाहिरिएपछि आइतबार राति माओवादी नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसलाई अस्वीकार गरेका हुन् । उनले भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।
‘कुनै भ्रममा नपरौं, प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’ उनले भनेका छन्, ‘गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन ।’
उनले माओवादी केन्द्र यथास्थितिमा एमसीसीको पक्षमा नभएको बताएका छन् । नेता श्रेष्ठ गठबन्धनले गठन गरेको एमसिसी अध्ययन कार्यदलका सदस्य समेत हुन् ।