श्रीमती र छोराका कारण बामदेव चुनाव हारेको खुलासा ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

श्रीमती र छोराका कारण बामदेव चुनाव हारेको खुलासा !



काठमाडौं– देशभर बाम गठबन्धनका उम्मेदवार विजयी हुँदा बाम गठबन्धनका सूत्राधार भएर पनि निर्वाचनमा पराजित भएका एमाले उपाध्यक्ष वामदेव गौतम पराजित हुनुको कारण छानबिनका लागि गठित टोलीले पराजयको कारण पत्ता लगाएको छ ।

छानबिन समितिले वामदेव निर्वाचनमा पराजित हुनुमा उनी आफैँ प्रमुख दोषी रहेको निष्कर्ष निकालेको छ । यस्तै स्थानीय अन्तरविरोधको समयमै पहिचान गरी समस्या समाधान गर्न नसक्नु पनि हारको कारण रहेको अध्ययनको ठहर छ । उपाध्यक्ष गौतम प्रतिनिधिसभा सदस्यमा काँग्रेस उम्मेदवार सञ्जय गौतमसँग बर्दिया–१ बाट पराजित भएका थिए ।

गौतमले आफ्नो हारका लागि अन्तरघात प्रमुख कारण रहेको भन्दै अन्तरघातीमाथि कारकाहीको माग गरेपछि एमालेले केन्द्रीय सदस्य वैजनाथ चौधरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले गौतमको पराजयको कारणबारे प्रतिवेदन तयार पारे पनि सार्वजनिक भने नगरिएको एमालेका एक नेताले जानकारी दिए । यद्यपि समितिलाई थप छानबिन गर्न निर्देशन आएको चौधरीले बताए ।

स्रोतका अनुसार छानबिन समितिले बामदेवले आफू प्रत्यक्षमा चुनाव लडेर श्रीमती तुलसा थापामगरलाई समानुपातिक उम्मेदवारको सूचीमा राख्नु, यस पटक आफूले जित्ने र अर्कोपटक सोही क्षेत्रबाट छोरा हरिसलाई उम्मेदवार बनाउने घोषणा गर्नु र चुनाव परिचालनमा जिल्लाका कार्यकर्तामाथि विश्वास नगरेर जिल्ला बाहिरकालाई ल्याएर हर्ताकर्ता बनाउनु, यसअघि निर्वाचन जितेर गएपछि जिल्ला नफर्कनु, जनताको सुखदुःखमा साथ नदिनुजस्ता कारणले चुनाव हारेको दाबी गरेको छ ।

यस्तै गौतमले निर्वाचन परिचालनका लागि भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्दा मतदाता भड्किएको पनि छानबिन समितिले जनाएको छ । बाम गठबन्धनको २५ हजार मत बढी हुँदा पनि गौतम काँग्रेस जिल्ला सभापतिसमेत रहेका सिँचाईमन्त्री सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतको झिनो अन्तरमा पराजित भएका थिए ।

काठमाडौंटुडेको सहयोगमा