धर्मगुरु श्रीनिवासले आफैंमाथि गोली प्रहारका लागि भाडाका मान्छे खटाएको प्रहरीको दाबी - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

धर्मगुरु श्रीनिवासले आफैंमाथि गोली प्रहारका लागि भाडाका मान्छे खटाएको प्रहरीको दाबी



काठमाडाैं । धार्मिक हिंसा बढाउने ध्येय राखी धर्मगुरु श्रीनिवास आचार्यले आफैंमाथि गोली प्रहारका लागि भाडाका मान्छे खटाएको प्रहरीले दाबी गरेको छ । काठमाडौंमा पक्राउ गरी विराटनगरमा आचार्यलाई सोमबार मोरङ प्रहरीले सार्वजनिक गरेको हो । आचार्यमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ गरिएका दुई जनाको बयानका आधारमा प्रहरीको यस्तो दाबी आएको हो ।

२५ चैत, २०७४ मा विराटनगरको राम जानकी मन्दिर परिसरको श्रीमद् भागवत सप्ताह पुराण वाचनका लागि आएका बेला आचार्यमाथि गोली प्रहार भएको थियो ।

आचार्य सुनसरीको बराह नगरपालिका–६ चक्रघटीमा बस्छन् । ३१ वर्षीय आचार्य बाराका स्थायी बासिन्दा हुन् । केही दिनअघि मात्र न्युरो अस्पतालबाट डिस्चार्ज गरेपछि उनी काठमाडौं पुगेका थिए । गोली प्रहार भएपछि उनी तीन साता अस्पतालमा बसेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीका अनुसार गोली प्रहार गरिएको अभियोगमा चितवन भरतपुर–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट–५ का ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएको हो । एसपी बीसीले भने, ‘अनुसन्धानका क्रममा भाडाका मान्छे लगाएर आफैंमाथि गोली प्रहार गर्न लगाएको खुल्यो । धार्मिक हिंसा भड्काउने उद्देश्य पनि देखिन्छ ।’ घटना पत्ता लगाउन मोरङ प्रहरीले एक महिना अनुसन्धान गरेको थियो । एसपी बीसीले थपे, ‘घटनाको छानबिनका लागि गठित प्रहरी टोलीले प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरेको थियो । आचार्यले नै भाडाका व्यक्ति प्रयोग गरी गोली हान्न लगाएको पाइयो ।’

गोली चलाउनेमध्येका एक जना चौधरीले, धर्म र देशका लागि केही गर्नुपर्छ भनी गोली हान्न उक्साएको प्रहरीलाई बयान दिएका थिए । उनको बयान सुनाउँदै एसपी बीसीले भने, ‘मलाई गोली हान्न सिकाएर धर्म र देश जोगाउन उक्साउने आचार्य श्रीनिवास हुन् । गोलीसहितको पेस्तोल दिए ।’

अर्का अभियुक्त अधिकारीका अनुसार आचार्यले घरमा राखेको गोलीसहितको पेस्तोल गोली प्रहारपछि आचार्यलाई नै फिर्ता गरिएको छ । अधिकारीले एक वर्षअघिको योजनामुताबिक गोली प्रहार गरिएको बयानमा उल्लेख गरेका छन् । ‘हातमा हान्ने योजना थियो, चौधरीले मिसफायर गर्दा कुममा लाग्यो,’ प्रहरीसँगको बयानमा अधिकारीले भने । धार्मिक आन्दोलनले सार्थक रूप नलिएपछि आचार्यले हिंसा भड्काउने उद्देश्यले गोली चलाउन लगाएको प्रहरीको निष्कर्ष छ ।

अनुसन्धानले खुलाएको तथ्य अगाडि सार्दै एसपी बीसीले भने, ‘यस्तो घटनाबाट जनता र धर्मगुरुहरू उक्सिन सक्ने भएकाले उनले यो बाटो रोजी विश्वास पात्र अधिकारीलाई गोलीसहित हतियार व्यवस्थापन गर्न लगाएको देखिन्छ ।’