बेरोजगार हुनुहुन्छ ? सुचना दिनुहोस, सरकारले दिन्छ राेजगारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बेरोजगार हुनुहुन्छ ? सुचना दिनुहोस, सरकारले दिन्छ राेजगारी



काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने दाबी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै मन्त्री विष्टले देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिएको बताए ।

सरकारको पहिलो प्राथमिकता देशभित्रै रोजगारी दिलाउने भएकाले श्रमको सम्मान गरिने र आन्तरिक रोजगारीका पर्याप्त अवसर सृजना गर्न न्युनतम रोजगार प्रत्याभुत दिने कार्यक्रमको खाका तयार पार्ने काम भैरहेको जानकारी दिएका छन् ।

अब स्थानीय तहसम्म रोजगार सुचना केन्द्र खोलिने र ती सूचनाकेन्द्रमा बेरोजगार युवाले आफ्नो पूर्ण विवरण सहित सुचना दिन पाउनेछन् । त्यसैको आधारमा निश्चित समय भित्र उनीहरुलाई रोजगारी दिने व्यवस्था मिलाइने मन्त्री विष्टको दावी छ ।

यदि राज्यले रोजगारी दिन सकेन भने प्रत्याभुत हुने गरि कानुनी व्यवस्था गरिने समेत मन्त्री विष्टले बताए ।

‘यसका लागि मन्त्रालयले विभिन्न मन्त्रालयहरुसँग घनिभुत छलफल गरिरहेको छ । केहि दिनमै स्पष्ट खाका सहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिनेछ’, मन्त्री विष्टले भने, ‘तत्कालका लागि वैदेशिक रोजगारमा देखिएका बेथिती र विसंगती रोक्नु आवश्यक भएकाले त्यसतर्फ सरकारले महत्वपुर्ण कदम चालिसकेको दावी गरे ।’

लाखौं युवाहरुको पसिना र रगत माथी खेलवाड गर्ने तत्वहरुलाई परास्त गर्न नितीगत तथा कानुनी निर्णयहरु लिइसकिएको दावी गर्दै श्रममन्त्री विष्टले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका वेथिती रोक्नका लागि सरकारले चालेका कदमहरुले कतिपयलाई अस्हय भएको बताए ।

‘केहि विरोधका स्वर पनि सुनिएका छन् । तर वेथिती रोक्ने सवालमा सरकारलाई त्यस्ता विरोधले कुनै फरक पार्दैन’, ‘यसमा सबै सचेत रहन जरुरी छ । वैदेशिक रोजगारीमा दुःख कष्ट भोगेर फर्किएका साथीहरुले सन्देश फैलाउन जरुरी छ ।’

एकातिर नेपाली युवाले रोजगारी नपाएको तर श्रम बजार भने काम गर्ने मान्छे नपाएर विदेशी श्रमिक ल्याइरहेको भन्दै मन्त्री विष्टले श्रम बजारको माग र युवाको रोजगारीबीच तादम्यता मिलाउने तर्फ सरकारको गम्भिर ध्यान गएको बताए ।

नेपालमा २ दिन अघि मात्रै श्रमिकको न्युनतम तलब १३ हजार ४ सय ५० तोकिएको छ । अन्य सुविधा सहित औसत झण्डै १६ हजार न्युनतम तलब बुझ्ने अवस्था देशभित्रै बनेको छ । तर औसत २० हजार आम्दानीका लागि नेपाली युवा ऋण धन गरेर विदेश गइरहेका छन् ।

वैदेशिक रोजगारीबाट रेमिट्यान्स मात्रै भित्रिएको छैन, दैनिक ३,४ वटा नेपाली युवाको शव पनि भित्रिएको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण ठूलो सामाजिक मूल्य चुकाउनु परिरहेको अवस्था छ । त्यसैले अब नेपाली युवालाई नेपालमै संभावना छ भन्ने सन्देश फैलाउन जरुरी भएको विष्टले बताए ।

‘नेपालीको श्रम, सिप नेपाल बदल्नका लागि भन्ने जागरण ल्याउनुछ, त्यसतर्फ सरकारले विशेष कार्यक्रम ल्याउने छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले पनि अरु युवालाई देशभित्रै पौरख गर्न प्रेरित गर्नुआवश्यक छ’, मन्त्री विष्टले भने ।

अन्तिम चरणमा रहेका अत्याधुनिक अनलाइन प्रणाली केहि दिनमै सञ्चालनमा ल्याइने विष्टले बताए । उक्त प्रणाली सुरु भएपछि वैदेशिक रोजगारीमा जाने युवा ठगिनु नपर्ने र वैदेशिक रोजगारीमा जाने जो कसैको विस्तृत विवरण प्रणालीमा सुरक्षित हुने व्यवस्था मिलाएको उनले सुनाए ।

जाने क्रममा मात्रै हैन, फर्किंदा पनि कुन देशमा कस्तो प्रकारको काम गरेर आएका छन् भन्ने रेकर्ड राखिने, सोहि आधारमा सिप प्रमाणिकरणको व्यवस्था गरिने र यसले देश भित्रै रोजगारीका दिलाउन सहज हुने श्रममन्त्री विष्टले बताए ।

कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य सिप लिनुपर्ने बाध्यकारी नियम अबको केहि समयभित्रै ल्याइने समेत खावी गरेका छन् ।