शोकमा बाग्लुङ: क्षतविक्षत मृतक, चिन्नै नसकिने अवस्था
काठमाडौं- बाढीको कारण बाग्लुङ शोकमा छ । बुधबार राति भुजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ को तटीय क्षेत्रका ३१ घर बगाएको थियो । घर बगाउँदा १४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता छन् ।
बाढीले बगाउँदा मृत्यु भएकाको शव चिन्नै नसकिने आवस्थामा छन् । शव क्षतविक्षत भएकाले मृत्यु भएका १४ जनामध्ये आठजनाको मात्रै सनाखत भएको छ ।
शव भेटिएकामध्ये आठजनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिचान भएकामा ढोरपाटन नगरपालिका– ९ की २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती, ३२ वर्षीया करमती बुढा र ३१ वर्षीय प्रेम पुन रहेका छन् ।
शव क्षतविक्षत भएकाले पहिचान गर्न गाह्रो भएको बताइएको छ । माटोले पुरिएर अनुहारको भाग नै नचिनिने भएका कारण शव कसको हो भन्ने पत्ता लाग्न कठिनाइ भइरहेको छ । शव भेटिएकामध्ये ६ जनाको सनाखत हुन सकेको छैन ।
बाढीले ढोरपाटन– ९ स्थित लाकुरीबोटमा रहेको स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाका चारवटा भवन, सडकछेउमा पार्किङ गरेर राखेको एक जिप पनि बगाएको थियो ।
बेपत्ताको शुक्रबार दिनभर खोजी गरिएको भए पनि कुनै पत्ता नलागेको प्रहरीले जनाएको छ ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सांसद देवेन्द्र पौडेलले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।