प्रधानमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिलाई के भने ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रधानमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिलाई के भने ?



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको काठमाडौंमा जारी स्थायी समिति बैठक मंगलबार सुरु हुनु अघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटघाट गरेका छन् ।

नेकपा भित्र अन्तरविरोध चर्किरहेका बेला प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकको मंगलबारको बैठक सुरु हुनु ठीक अघि राष्ट्रपति भण्डारीसंग भेट वार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

मंगलबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको पार्टीका नेताहरुको अनुमान छ ।

बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ । यसअघिको बैठकमा अध्यक्ष एवं बरिष्ठ नेताहरुलाई राखिएका सोफा र कुर्सीका विषयमा विवाद भएको थियो ।

साथै आइतबार मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका सम्बन्धमा पनि नेकपाभित्र विवाद चर्किएको छ । नेताहरुका अनुसार आजको बैठकमा थप विवाद बढ्ने संकेतहरु देखिएका छन् ।

प्रधानमन्त्री ओली सितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेर फर्केपछि मंगलबारको स्थायी समितिको बैठक सुरु भएको थियो । सत्तारुढ दल नेकपा भित्र पछिल्ला दिनहरुमा अन्तरविरोध चर्किरहेका बेला प्रधानमन्त्री र राष्ट्रपति बीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको एक विश्लेषकले बताए ।

यसअघि पनि पार्टी भित्र अन्तर विरोध चर्किएका बेला अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्दै आएका थिए । राष्ट्रपति भण्डारीले कतिपय मुद्दामा नेकपाका शीर्ष नेताहरु बीच समन्वयकारी भुमिका खेलेको सार्वजनिक भएको थियो ।