शिशु हत्या अभियोगमा आमा पक्राउ - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

शिशु हत्या अभियोगमा आमा पक्राउ



पत्रपत्रिका / नयाँ पत्रिका : कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ की गंगा ओखेडा शिशु हत्या आरोपमा पक्राउ परेकी छिन् । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका वेला उनले अवैध सम्बन्धबाट बिहीबार बच्चा जन्माएकी थिइन् ।

तर, जन्मिएको केही समयमै बच्चाको मृत्यु भएपछि गंगालाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् विदेशमा रहेका वेला गर्भवती बन्नु र जन्मिएको एक घन्टामै शिशुको मृत्यु भएपछि गाउँभर हल्ला मच्चियो । हल्ला फैलिएपछि झोलुंगे पुलको चौकीबाट प्रहरी गंगाको घर पुग्दासम्म शिशु कम्मलले बेरिएको अवस्थामा मृत फेला परे । शिशुको मुत्यु र घटनाको प्रकृति अनुसन्धानपछि प्रहरीले गंगा ओखेडा र सन्तोष ओखेडालाई पक्राउ गरेको हो ।

पोस्टमास्र्टमका लागि शिशुलाई महाकाली अञ्चल अस्पताल पु-याइयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले गंगा र सन्तोषले बच्चा मारेको हुन सक्ने आशंकामा पक्राउ गरी अनुसन्धान थालेको बताए । पक्राउ परेकी गंगाले शिशु जन्मिएपछि कम्मलले बेर्दा श्वास फेर्न नपाएर मरेको बयान दिएको प्रहरी नायब उपरीक्षक सेठीले बताए ।

‘गंगाका श्रीमान् केही दिनमा घर आइपुग्दैछन्,’ सेठीले भने, ‘घटनाका बारेमा थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’ श्रीमान्को डरले परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशुको गंगाले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । स्थानीयले शिशु हत्या अभियोग लागेका दुवैलाई कारबाही गर्न प्रहरीलाई सुझाब दिएका छन् ।