देशका शिक्षामन्त्री नै जातीय भेदभावका मतियार बनेपछि..
काठमाडौं- जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै गएर छुटाएपछि उनको चौतर्फी आलोचना भइरहेको छ।
काठमाडौंमा डेरा खोज्ने क्रममा सञ्चारकर्मी रूपा सुनारलाई जातीय भेदभाव गरेको गरेकै व्यक्तिलाई देशको शिक्षामन्त्री नै गैर छुटाएपछि अहिले यसको चौतर्फी वहस भैरहेको छ ।
सामाजिक संजालदेखि संचारमाध्यमसम्म शिक्षामन्त्रीको कदमको विरोध भैरहेको छ ।यसै क्रममा नागरिक अभियन्ता एवं लेखक खगेन्द्र संग्रौलाले शिक्षामन्त्री श्रेष्ठलाई जातीय भेदभावका सरकारी मतियार भनेका छन्।
‘रूपा सुनार र सरस्वती प्रधान दुवै पीडित नारी। रूपा जातजन्य भेदभावबाट पीडित, सरस्वती परम्पराले थोपरेको विभेदकारी संस्कारबाट पीडित,’ लेखक संग्रौलाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘रूपाको विद्रोह आफूलाई जातजन्य भेदभावबाट र सरस्वतीलाई भेदभावको संस्कारबाट मुक्त गर्ने विद्रोह हो। शिक्षामन्त्री कृष्ण तुच्छ भेदभावका सरकारी मतियार!’
यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनारलाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन्।
आफूलाई जातीय विभेद गरेको भन्दै सुनारले यही असार ३ गते घरबेटी प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिएकी थिइन्। त्यसपछि ६ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।
तर जिल्ला सरकारी वकिलको कार्यालय (काठमाडौं) ले यथेष्ट प्रमाण नभएको भन्दै मुद्दा फिर्ता गरेपछि आजै (बुधबार) घरबेटी प्रधान रिहा भएकी छन्। उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि प्रहरी वृत्त पुगेका थिए भने आफ्नै सरकारी गाडीमा घरबेटी प्रधानलाई लिएर फर्किएका थिए।