शिक्षामन्त्री पोखरेलले भने: कोरोनाले शिक्षा क्षेत्रमा नयाँ अवसर ल्याएको छ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

शिक्षामन्त्री पोखरेलले भने: कोरोनाले शिक्षा क्षेत्रमा नयाँ अवसर ल्याएको छ



महोत्तरी- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीको परिस्थितिमा नेपालको शिक्षा क्षेत्र पूर्ण रुपले ग्रस्त भएको बेला अनलाइन शिक्षा एउटा अवसर रहेको बताएका छन्।

शनिबार प्रेस संगठन नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो धारणा राखेका हुन्। उनले रेडियो, टेलिभिजन र भर्चुअल (अनलाइन) माध्यमबाट भइरहेको पठनपाठनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीलाई यो कोरोनाले शिक्षा क्षेत्रमा नयाँ कुरा गर्ने एउटा अवसर पनि दिएको छ। तर यो अवसरलाई सदुपयोग गर्न स्थानीय तहबाट पहल गर्न जरुरी छ। अनलाइन कक्षालाई निरन्तरता दिनुपर्छ।’

‘वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो, टेलिभिजन र भर्चुअल (अनलाइन) कक्षा गरी चारवटै विधिमा पठनपाठन हुनुपर्छ’, मन्त्री पोखरेलले भने, ‘विश्वविद्यालयमा समेत सोही विधिमा पठनपाठन हुन्छ।’

सरकारले असार १ गते वैकल्पिक सिकाइ अभियान सुरु गरे पनि सबै विद्यालयले यसलाई लागू गराउन नसकेको उनले बताए।

वैकल्पिक कक्षालाई प्रभावकारी बनाउन शिक्षण संस्थाले आफ्ना विद्यार्थीको खोजी गर्नुपर्ने भन्दै वैकल्पिक पठनपाठन विधि विद्यालयदेखि विश्वविद्यालयसम्म लागू गर्नुपर्ने सुझाए।