पद छाडेको महिनौ बित्दा पनि सरकारी गाडीमा मोज गर्दै शेरधन राई - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पद छाडेको महिनौ बित्दा पनि सरकारी गाडीमा मोज गर्दै शेरधन राई



मोरङ- प्रदेशमा आफूपछि दुईजना मुख्यमन्त्री फेरिसक्दा पनि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छैनन् । राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि हालसम्म फिर्ता गरेका छैनन् ।

तत्कालीन मुख्यमन्त्री राईले २०७७ पुस १२ मा तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयका गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए ।

मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राईले उक्त गाडी प्रयोग गर्दै आएका थिए । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले काठमाडौंमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय नराख्ने मन्त्रिपरिषद्बाट निर्णय गरेर खारेज गरेका थिए । हालका मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयमा भएका सम्पूर्ण सामग्री विराटनगर ल्याएर प्रयोग गरिरहेका छन् तर गाडी ल्याउन सकेका छैनन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पूर्वमुख्यमन्त्री राईले गाडी फिर्ता गर्ने भने पनि हालसम्म नगरेको तर चाँडै फिर्ता हुने विश्वास व्यक्त गरे । पूर्वमुख्यमन्त्री राईले फोनको भरमा गाडी लगेकाले गाडी कसले लगेको बारे औपचारिक रेकर्ड मन्त्रालयसँग छैन ।

पूर्वमुख्यमन्त्री राईले प्रदेश सरकारले औपचारिक रूपमा गाडी फिर्ता नमागी मिडियामार्फत मागेको भन्दै दुःख व्यक्त गरे । ‘गाडी फिर्ता चाहिएको छ भने सोझै औपचारिक रूपमा मागे भइहाल्थ्यो, किन मिडियामार्फत माग्नुपर्‍यो ?’ उनले भने, ‘गाडी सम्पर्क कार्यालयको भएकाले सरकारले खोजेर लगे भइहाल्यो ।’

प्रदेश सरकारले हालसम्म औपचारिक रूपमा राईसँग गाडी फिर्ता माग्न सकेको छैन । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दाहालले गाडी औपचारिक रूपमा फिर्ता माग्नै नपर्ने अब चाँडै फिर्ता आइहाल्ने दाबी गरेको देवनारायण शाहले कान्तिपुरमा लेखेका छन् ।