शेखरले भने: शशांक र सुजाताले धोका दिए, चिठीको मर्म बुझेनन्
मोरङ- कांग्रेसका नेता शेखर कोइरालाले आफ्ना भाइ-बहिनी (शशांक र सुजाता कोइराला)ले धोका दिएको बताएका छन् । उनले शशांक, सुजाता र नेताहरूलाई मिलाउन नसकेकोले पार्टी सभापतिमा हार ब्यहोर्नु परेको बताए ।
विराटनगरमा सोमबार पत्रकारहरूसँग कुराकानीको क्रममा कोइरालाले पार्टीको १४औं महाधिवेशनमा कार्यकर्ताहरूले माया गरेको तर आफ्नै कमजोरीले सभापतिमा पराजय ब्यहोर्नु परेको बताएका हुन् ।
बीपी कोइरालाले बुवा केशव कोइरालालाई पठाएको पत्रको स्मरण गर्दै उनले आफ्नै भाइ-बहिनीले त्यसको बुझ्न नसकेको बताएका थिए । शशांक कोइराला र सुजाता कोइरालालई लक्षित गर्दै उनीहरूले उक्त पत्रको मर्म नबुझ्दा अहिलेको स्थिति निर्माण भएको उनको भनाइ थियो ।
‘बीपीले निर्वासनको क्रममा मेरो बुवालाई सबैलाई मिलाएर राख्नु भन्दै पत्र पठाउनुभएको थियो । तर भाइबहिनीले त्यसको मर्म बुझेनन्,’ नेता कोइरालाले भने । भारतमा निर्वासनको बेला बीपीले भाइ केशवलाई पठाएको उक्त पत्रबारे कोइरालाले विस्तृतमा व्याख्या भने गरेनन् ।
पार्टीको सम्पन्न १४ औं महाधिवेशनमा कोइरालाको साथ छोडेर भाइ शशांक कोइराला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानललाई साथ दिएका थिए भने बहिनी सुजाता कोइराला अर्का सभापतिका उम्मेदवार प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेकी थिइन् ।
एकै समूहका नेता रामचन्द्र पौडेलले पनि कोइरालाको साथ छोडेर देउवालाई महाधिवेशनमा सघाएका थिए ।
महाधिवेशनमा जेजस्तो भए पनि अब पार्टी चुनावी अभियानमा लाग्नुपर्ने उनको भनाइ थियो । ‘समय, काल, परिस्थिति र कार्यकर्ताको भावनालाई लिएर अबको राजनीतिक यात्रा अघि बढाउँछौं,’ उनले भने, ‘अब तीन तहको निर्वाचनमा कांग्रेसलाई सफल बनाउने अभियानमा लागौं । त्यसैले पार्टीका सबै नता तथा कार्यकर्तालाई पनि निर्वाचन केन्द्रीत अभियानमा लाग्नु आवश्यक छ ।’
स्थानीय तहको निर्वाचनको मिति वैशाखमा प्रस्ताव भइसकेको र त्यसपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम अघि बढाएको कोइरालाको भनाइ थियो ।
यस्तै पार्टीले २० औं नम्बरको मर्यादाक्रममा राखेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा उनले आफ्नो मर्यादाक्रम कार्यकर्ताहरूले माया गरेर दिएको १ हजार ८५५ भोट भएको प्रतिक्रिया दिए ।
‘सभापति शेरबहादुर देउवा तथा केन्द्रीय कार्य समितिले के गर्यो त्यो पद्धतिको कुरा हो,’ उनले भने, ‘कांग्रेसभित्र बीपी कोइरालाको पालादेखिको पद्धति सभापति देउवा एवं केन्द्रीय कार्य समितिले पछ्याएन भने त्यसको विषयमा कार्यकर्ताले बोल्ने छन् ।’ आफूले कार्यकर्ता र पार्टीले दिएको दुवै मर्यादाक्रम स्वीकारेर अघि बढ्ने बताए।