कांग्रेसको नयाँ समीकरण: शेखरको नेतृत्व, चन्द्र उपसभापति र गगन महामन्त्री - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

कांग्रेसको नयाँ समीकरण: शेखरको नेतृत्व, चन्द्र उपसभापति र गगन महामन्त्री



काठमाडौ- नेपाली कांग्रेसमा १४औं महाधिवेशनको सरगर्मी चढेको छ । पार्टीको नेतृत्वका लागि विभिन्न खाले प्ल्यानल बन्न थालेका छन् भने विभिन्न नेताहरूले आफ्ना गतिबिधिहरू अगाडी बढाएका छन् । यस्तैमा पार्टी सभापतिको लागि डा. शेखर कोइरालाले आफ्नो तयारी थालेका छन् ।

डा. कोइरालाले आफ्नो प्यानल नै तयार गरेर नेतृत्वको दाबी गर्ने भएका छन् । कोइरालाले युवा पुस्तालाई समेटेर टिम बनाएका छन् । उनको तयारी अन्तिम चरणमा पुगेको समेत बताइएको छ । केहि समय अगाडी डा. कोइरालाले पार्टी बचाउनकै लागि आफू सभापतिमा लड्ने बताएका थिए ।

उनले सभापतिमा आफू, उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा गगन थापालाई अघि सार्नेगरि तयारी थालेको बताइएको छ । उनको नेतृत्वमा आउने अन्य पदाधिकारीहरुबारे भने खुलाइएको छैन । कोइरालाले यसपटक पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्ने एजेण्डालाई उठाएका छन् ।

अरूको पनि उस्तै तयारी

वर्तमान सभापति शेरबहादुर देउवाले पूनः सभापति लड्ने तयारी गरेसँगै कांग्रेसको यो महाधिवेशन रोचक बन्ने भएको छ । सभापतिकै आकांक्षीहरू धेरै भएपछि झनै रोचक बन्ने देखिएको छ । डा. कोइरालाले पनि नेतृत्वको दाबी गर्दै उम्मेदवारीको तयारी गरेपछि पहिले नै तयारीमा रहेका नेताहरू भने तनावमा देखिएका छन् ।

कांग्रेसमा यसपटक सभापतिको लागि धेरै जना आकांक्षी छन् । देउवालाई अत्यन्तै सहयोग गर्दै आएका नेता विमलेन्द्र निधिले सभापतिमा लड्ने तयारी थालेको भन्दै देउवासंगनै सहयोग मागिसकेका छन् । यसपटक आफू कुनैपनि हालतमा सभापति लड्ने भन्दै उनले आफूलाई सहयोग गर्न देउवालाई आग्रह समेत गरिसकेका छन् ।

निधिसँगै देउवा समुहकै पुराना नेता गोपालमान श्रेष्ठले पनि देउवाले काँध फेर्नुपर्ने भन्दै यसपटक आफू सभापति उठ्ने घोषणा गरेका छन् । तर, देउवा भने निधि र श्रेष्ठले साथ नदिएपनि सभापतिमा लड्ने तयारीमा छन् ।

देउवाले आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । उनले विभिन्न प्रदेशका नेताहरूसंग छलफल गरिरहेका छन् । त्यतिमात्र होइन निधिनिकटका नेताहरूलाई तान्ने प्रयत्नमा पनि उनी लागिपरेका छन् ।

सभापतिमा उठ्ने तयारी थालेका विमलेन्द्र निधिले प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालासँग छलफल गरेका छन्। उनीहरुबीच आगामी महाधिवेशनमा एकताबद्ध भएर अघि बढ्ने समझदारी भएको र सोहीअनुसार पावर सेयरिङमा कुराकानी भएको बुझिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबाट सभापतिमा को उठ्ने भन्नेबारे नाम टुँगो लाग्न बाँकी छँदै यी तीन प्रभावशाली नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।