सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्छ: कोइराला
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी कांग्रेस अगाडि बढ्नुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ दल नेकपा हालसम्म विभाजित नभएको भन्दै नेकपा विभाजित नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्नेतर्फ सचेत गराए ।
‘‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभई कुनै पनि कदम चाल्दाखेरी त्यसले भोलि अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ कि भन्ने मलाई चिन्ता छ । त्यो नहोस् । मेरो चाहना के हो भने दुई वर्षपछि त निर्वाचन हुने नै छ । नेपाली कांग्रेसको नेतृत्वमा त्यो निर्वाचन हुनसक्यो भने त्यो हिसाबले सोचेर अगाडि बढेमा पक्कै पनि नेपाली कांग्रेसको भविष्य छ,’’ उनले भने ।
नेता कोइरालाले नेपाली कांग्रेसका भातृसंगठनहरुको अधिवेशन नगरी निस्क्रिय बनाए पार्टी बनाउन सम्भव नभएको बताए । पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उनले युवाहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।