गठबन्धनसँग तर्सियो शेखर समूह, भागबण्डाको राजनीति नगर्ने घोषणा गरेका शेखरले नै खोजे भाग - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

गठबन्धनसँग तर्सियो शेखर समूह, भागबण्डाको राजनीति नगर्ने घोषणा गरेका शेखरले नै खोजे भाग



काठमाडौं– महाधिवेशनमा पराजय भोगेपछि आफूले भागबण्डाको राजनीति नगर्ने घोषणा गरेका शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भाग माग्न थालेका छन् । नेबिसंघ र तरुण दलमा नियुक्तिको विषयलाई लिएर शेखर देउवासँग रुष्ट बनेका छन् ।

त्यतिमात्र होइन कांग्रेसको शेखर पक्षले गठबन्धनका नाममा पार्टीको संस्थापन (सभापति देउवा पक्ष)ले आफूहरुलाई किनारा लगाउन खोजेको आशंका समेत गरेको छ। केन्द्रीय समितिको बैठकअघि बसेको शेखर पक्षको बैठकले गठबन्धनको सन्दर्भमा संस्थापन पक्षले लिएको ‘नीति’प्रति आशंका गरेको हो।

शेखर पक्षका एक नेताका अनुसार आगामी केन्द्रीय समितिको बैठकमा यस विषयलाई जोड दिएर उठाउने निष्कर्ष समेत निकालिएको छ।

बैठकपछि शेखर पक्षीय एक नेताले भने, ‘पार्टीभित्रको एक पक्षलाई किनारा लगाएर गठबन्धन गर्ने नाममा जुन भागबन्डा गर्ने प्रयास भइरहेको छ, त्यसको प्रतिवाद गर्ने निर्णय भएको छ। आगामी केन्द्रीय समितिमा हामी आफ्नो पक्षका तर्फबाट उक्त कुरा उठाउनेछौं।’

कांग्रेसको विधानअनुसार उम्मेदवार टुंग्याउन चारवटा संसदीय बोर्ड भएपनि सबै केन्द्रबाटै टुंग्याउने सभापति देउवा पक्षको तयारीका विरुद्ध पनि केन्द्रीय समितिमा कुरा उठाइने ती नेताको भनाइ छ। ‘भागबन्डाका नाममा केन्द्रबाटै टुंग्याउने तरिका पद्धतिअनुसार मिल्दैन। केन्द्रीय संसदीय बोर्डले पनि महानगरको मात्रै टुंग्याउन सक्छ। तर, सबै यहीँबाट टुंग्याउने कुरा मान्य हुँदैन,’ ती नेताले भने।

उक्त पक्षको बैठक बसेकै बेला सभापति देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ समितिको अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई अध्यक्ष नियुक्त गरेका छन्। उक्त प्रक्रियामा पनि कोइराला पक्षको विरोध छ। व्‍यक्तिप्रति कुनै आपत्ति नरहे पनि पद्धति मिचिएको उक्त पक्षको भनाइ छ।

कार्य सम्पादन समितिसँग परामर्श गरेर टुंग्याउनुपर्नेमा एकलौटी ढंगले नियुक्ति गरेर सार्वजनिक गर्ने कुरा पद्धतिविरुद्ध रहेको उक्त पक्षको बुझाइ छ। यसलाई पनि केन्द्रीय समितिमा लैजाने तयारी गरिएको छ।