देउवा-शेखर मध्यरातमा बाझाबाझ, शेखरले पढाए पाठ
काठमाडौं । मध्यरातमा बसेको नेपाली कांग्रेस बैठकमा नेताहरू बाझाबाझ गरेका छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरू उम्मेदवार छनौटको विषयलाईलिएर बाझाबाझ गरेका हुन् ।
शुक्रबार राति ११:३० सम्म चलेको बैठकमा देउवा पक्ष र शेखरपक्षबीच चर्काचर्की भएको एक नेताले बताए ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शिर्ष नेताहरूको बैठकमा विराटनगर महानगरपालिकाको मेयरका विषयमा चर्काचर्की भयो ती नेताले भने ।
शेखर कोइरालाले एउटै व्यक्तिलाई पटक पटक अवसर दिँदा पार्टीमा न्याय व्यवस्थापन नहुने भन्दैन सभापति शेरबहादुर देउवालाई पाठ पढाएका थिए ।
बैठक राति साढे ११:३० सम्म चलेको थियो । तर, उमेदवार छनोटमा सहमति हुन सकेन ।
कोइरालाले देउवालाई विराटनगरको राजनीति तपाईंहरू बुझ्नुहुन्न भन्दै अमृत अर्याललाई मेयर बनाउँदा पार्टीले फेरि हार्ने बताएका थिए । शेखरले नयाँलाई अवसर दिएर पुरानालाई माथि तान्नुपर्ने अडान लिएका थिए ।
बैठकमा देउवाको प्रस्ताव अस्विकार गर्दै शेखर कोइरालाले भने, “२०५४ सालमा मेयर लडेर हारेको मान्छेलाइ टिकट दिने अहिले ? सांसद , मन्त्री, मुख्यमन्त्री बनाउनुहोस् अलग कुरा भयो। उहाँलाई मेयरमा झार्ने काम नगर्नुहोस् । विराटनगरको निर्णय गर्दा तपाईंले महेश आचार्य र मिनेन्द्र रिजाललाई सोध्नु भयो ?”
देउवाले पुरानै अडान लिएपछि शेखरले आफ्नो अडान दोहोर्याउँदै विराटनगर टुंगो नलगाई अघि नबढ्ने बताएका थिए । बैठकमा नेता कृष्ण सिटौलाले भने भीम पराजुलीलाई मेयर बनाउनुपर्ने अडान राखेका थिए ।
जवाफमा फेरि शेखरले एउटै मान्छेलाई पटक–पटक अवसर दिँदा पार्टीमा न्याय र व्यवस्थापन कसरी हुन्छ ? भन्दै चर्किएका थिए ।
शेखरको कुरामा नेता विमलेन्द्र निधि र शशांक कोइरालाले भने समर्थन गरेका थिए । शेखर विराटनगरमा नागेश कोइरालालाई टिकट दिनुपर्ने अडानमा छन् ।
शिर्ष नेताहरूको अहिले बैठक सुरू भएको छ । आजै ११ बजेबाट कार्यसम्पादन समितिको बैठक बस्दै छ।