शेखरलाई सभापति बनाउन गगनले दिए साथ
काठमाडौं- आसन्न १४ औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवानेता गगन थापाले सभापतिका रूपमा डा. शेखर कोइरालालाई अघि सारेका छन् ।
बिहीवार बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको संस्थापन इतरका नेताहरूको भेलामा थापाले कोइरालालाई साझा उम्मेदवार बनाएर अघि बढाउन सुझाव दिएका हुन् ।
‘राष्ट्रिय राजनीतिलाई कांग्रेस अनुकूल बनाउन शेखर कोइरालालाई साझा उम्मेदवार बनाएर अघि बढ्नु राम्रो हुन्छ,’ थापाको भनाइ उदृत गर्दै पौडेल समूहका एक केन्द्रीय सदस्यले भने ।
थापाले महामन्त्रीमा दाबी गरिरहेका छन् । १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेदवारी दिएका थापा महामन्त्रीमा पराजित भएका थिए । थापाले सिटौला समूह छाडिसकेका छन् ।