‘फेरि देश घुम्दैछु, कार्यकर्ताको शिर झुक्न दिन्न’
काठमाडौं- कांग्रेस नेता शेखर कोइरालाले तीन तहको निर्वाचनका सन्दर्भमा फेरि देश दौडाहा गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आफ्नो समूहको भेला गरेका छन् । कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेताहरू सहभागी भएका थिए ।
उक्त भेलामा शेखरले आफू फेरि देश दौडाहामा लाग्ने र निर्वाचनको तयारी गर्ने बताएका छन् । ‘हाम्रा अगाडिका बाटाहरू सहज छैनन्, तीन तहको निर्वाचन हाम्रोसामु छ, कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरुसामु जानेछौं,’ कोइरालाले भनेका छन् । उनी १३ औं महाधिवेशनपछि पनि तुरुन्तै देश दौडाहामा निस्किएका थिए ।
उनले कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा लाग्ने बताएका छन् । ‘हामी थाक्ने छैनौं, र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरूको शिर झुक्न दिने छैनौँ । र निराश हुन दिने छैनौं,’ उनले भनेका छन्, ‘तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं ।’