शशांकले भने: म शेखरको टिममा छु, गलत प्रचार नगरौँ
काठमाडौ- कांग्रेस नेता शशांक कोइरालाले १४औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा आफू शेखर कोइरालाको प्यानलमै रहेको प्रष्ट पारेका छन् । आफ्ना स्वकीय सचिव भरत तिवारीमार्फत कोइरालाले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने प्रष्ट पारेका छन् ।
पार्टीको संस्थापन समूहले आफ्नो प्यानलको प्रचार सामग्रीमा शशांक कोइरालाको पनि नाम राखेको छ । तर शशांकको सचिवालयले भने त्यसलाई गलत प्रचार भनेको छ । ‘दुवै समूहले नाम राखेका छन् । तर उहाँ (शशांक कोइराला)को समर्थन शेखर काेइरालाको प्यानललाई नै हो’, स्वकीय सचिव तिवारीले भने ।
शशांकले शेखरलाई समर्थन रहेको बताए पनि उनी शेखरकाे मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् । यो बीचमा शेरबहादुर देउवासँग शशांकको भेट भएको देउवा निकट नेताहरूले दाबी गरिरहेका छन् ।
संस्थापनइतर समूहबाट सभापतिका आकांक्षी रहेका काेइरालाले सहमति नजुटेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । १३औँ महाधिवेशनमा उनी महामन्त्रीमा निर्वाचित भएका थिए । उनले केही समयअघि संस्थापनइतरबाट सभापतिकाे साझा उम्मेदवार नभए कांग्रेसकाे नेतृत्व फेरि पनि शेरबहादुर देउवालाई बुझाइदिए हुने बताएका थिए ।