देउवाविरुद्ध विद्रोह गर्ने शशांक कोइराला समूहको तयारी
काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसमा पनि खटपट देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाइतरको समूहले पार्टीमै विद्रोह गर्ने तयारी गरेको छ । पार्टी महामन्त्री डा. शशांक कोइरालाले सोमबार तेस्रो पुस्ताका नेतासँग गरेको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
सम्मानजनक हैसियत नपाए सरकारमा सहभागी नहुने निष्कर्ष निकाल्दै संस्थापनइतरका तेस्रो पुस्ताका नेताहरूले देउवाविरुद्ध विद्रोहको तयारी गरेको हो । सम्मानजनक हैसियतबिना सरकारमा जान नहुने विषय बैठकमा युवा पुस्ताका नेताले राखेको बताएका छन्।
बैठकले वडा तहको अधिवेशन सुरु गरेर बीचमा तल्लो तहका अन्य अधिवेशन रोक्न नहुने सुझाव समेत दिएको छ। तेस्रो पुस्ताका नेताहरुको बैठकले संस्थापनइतरमा रहेर सभापतिमा दाबी गरेका सबै नेताहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएको छ। संस्थापनइतरको एकीकृत बल कायम राख्न युवा नेताहरूको सक्रियता बढाउने निर्णय पनि गरिएको छ।
क्रियाशील सदस्यता वितरणका क्रममा संस्थापन पक्षले धाँधली गरेको विषय क्रियाशील सदस्यता छानविन समितिका सदस्य कल्याण गुरुङले उठाएका थिए। एक लाख भन्दा बढी क्रियाशील सदस्यता विधिभन्दा बाहिरबाट आएको उनको जिकिर थियो।
नवीकरण भएका क्रियाशील सदस्यमा संस्थागत धाँधली भएको उनको दाबी थियो। एक लाखमा क्रियाशील सदस्यमा कतै नाम थपेर र कतै खाली राखेर धाँधली गरिएको उनको जिकिर थियो। क्षेत्रबाट पहिले पठाएको सूची र केन्द्रले पठाएको सूचीको पुनरावलोकन हुनुपर्ने उनको भनाइ थियो।
बैठकमा दीपक गिरी, कमला पन्त, रत्ना शेरचन, गगन थापा, धनराज गुरुङ, सरिता प्रसाईं, बद्री पाण्डेय, गुरुराज घिमिरे, प्रदीप पौडेल, किरण यादव, कल्याण गुरुङ, जीवन परियार लगायतका तेस्रो पुस्ता नेता सहभागी थिए।