कांग्रेसको सभापतिमा उठ्लान त शशांक कोइराला ? - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

कांग्रेसको सभापतिमा उठ्लान त शशांक कोइराला ?



कान्तिपुर दैनिकले तेस्रो पृष्ठमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासँगको कुराकानीमा आधारित समाचार तयार पारेको छ । कुलचन्द्र न्यौपानेले लेखेको समाचारमा लेखिएको छ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि सिनामंगलस्थित एक होटलमा आफू पक्षीय जिल्ला सभापतिहरूको भेला गरेका थिए । भेलामा उपस्थित महामन्त्री शशांक कोइराला सबैको तारो बनिरहेका थिए । महामन्त्री कोइराला निकट सञ्जय गौतम, टीएल चौधरी, राजन केसीलगायतका केही जिल्ला सभापतिले नै तारन्तार महामन्त्री कोइरालाको भूमिकालाई लिएर प्रश्न गरे ।

उनीहरु सबैको एउटै सार थियो – सभापति शेरबहादुर देउवाले गल्ती गर्दै जाने, तपाईँ चुप लाग्दै जाने ? किन बोल्नुहुन्न ?’

कसैको केही जोर चलेन । महामन्त्री कोइराला मुसुक्क हाँस्दै निस्के । उनले नबोल्ने नेताको उपमा पाएका छन् । संसद्मा होस् या पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनी कम बोल्छन् । उनै कोइरालाले मंगलबार कान्तिपुरसँग कुरा गर्दै यी सबै आरोप र सन्देहको घेरामा आफू भए पनि पार्टी हितविपरीत नजाने बताएका छन् ।

“सभापतिकै कित्तामा म गएको भन्ने आरोप गलत हो,” उनले कान्तिपुरसँग भनेका छन्, “संसदीय दलको नेताको चुनावपछि १४ औं महाधिवेशनमा शेरबहादुरजीले मलाई सघाउनुहुन्छ भन्नेमा रत्तिभर विश्वास छैन । उहाँ नै सभापतिमा उठ्नुहुन्छ ।”

उनले कान्तिपुरसँग भनेका छन् – मेरो आफ्नै परिचय छ, शेरबहादुरजीले धेरै गल्ती गरिसक्नुभएको छ । उहाँले गल्ती सच्याएर जानुपर्छ । शेरबहादुरजी आगामी महाधिवेशनमा उठे म पनि सभापतिमै उठ्छु । त्यसका लागि बोल्ने बेला आइसकेको छैन । अहिले साथीभाइसँग कुरा गर्दैछु । गाउँगाउँ घुमिरहेको छु ।”