शशांक कोइरालापनि परे निर्वाचन आयोगको फन्दामा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

शशांक कोइरालापनि परे निर्वाचन आयोगको फन्दामा



प्रतिनिधि सभा निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ।

नेपाल विद्यार्थी संघले २६ चैतमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले गत निर्वाचनमा ६ करोड खर्च भएको बताएका थिए। नवलपरासी–१ बाट निर्वाचित सांसद डा. कोइरालाले भनेका थिए, “नवलपरासी १ गैडाकोटबाट तीन चोटी चुनाव लडेँ। पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो। दोस्रो चुनावमा तीन करोड र पछिल्लो चुनावमा ६ करोड खर्च भयो।”

उनको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “विभिन्न सञ्चारमाध्यममा कोइरालाले दिनुनभएको अभिव्यक्तिमा ६ करोड खर्च भएको भन्ने आएकोले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।”

उनले निर्वाचन आयोगलाई बुझाएको विवरणमा २१ लाख ७५ हजार खर्च बताएका थिए। यसमा आयोगले जवाफ मागेको बताउँदै प्रवक्ता शर्माले भने, “त्यस विषयमा के कसो भएको हो, सात दिनभित्र आयोगमा जवाफ पठाउन आयोग ध्यानाकर्षण गराउँदछ।”