पौडेल समूहमा पहिरो: सिंहले छोडे, शशांक पनि बाहिरिए
काठमाडौँ- दुई गुटमा विभक्त कांग्रेसको देउवाइतर समूहको नेतृत्वकर्ता नेता रामचन्द्र पौडेल समूहले पनि मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औँ महाधिवेशनमा नेतृत्व र पदाधिकारीबारे छलफल थालेको छ । तर पौडेल समूहमा भने तनावको अवस्था सृजना भएको छ । साझा उम्मेदवार छान्न पौडेल समूहले बोलाएको बैठकमा प्रभावशाली नेता प्रकाशमान सिंह भने नजाने भएका छन् ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा पदाधिकारीबारे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । त्यहाँ सभापति देउवा र उपसभापति विमलेन्द्र निधिबीच सभापतिको उम्मेदवारबारे सवाल जवाफ भयो । र, अन्तिममा देउवाले निधिलाई उम्मेदवार बनेर जित्ने शुभकामना दिएका थिए ।
देउवा समूहले तयारी थालेपछि पौडेल समूहले पनि आज आफूनिकटका नेताहरूको बैठक बोलाएको छ । नेता सिंहले पौडेल समूह छाडेको चर्चाबीच पौडेलले अर्का नेता तथा महामन्त्री शशांक कोइरालालाई भने आउट गर्ने बाहेक छन् । पौडेल समूहमा नेताको व्यवस्थापनको मोटामोटी खाका बनाएका छन् । पौडेलले डा. शेखर कोइरालालाई उपसभापतिमा निर्वाचन लडाउने र आम निर्वाचनपछि आफूले सभापति जितेमा कार्यवाहक सभापति दिने तयारी गरेका छन् ।
त्यतिमात्र होइन सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका अर्का नेता प्रकाशमान सिंहलाई पनि अहिले उपसभापतिको उम्मेदवार बनाउने र पछि संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पौडेलको छ । तर, दुवै नेताले पौडेलको प्रस्ताव भने स्वीकारेका छैनन् ।
पौडेलले दुवै नेतालाई एउटा प्रस्ताव गरेपछि अहिले पौडेल र प्रकाशमान सिंहको सम्बन्धमा चिसो बनेको छ । पौडेलले आजका लागि बोलाएको बैठकमा सिंहले नजाने घोषणा गरिसकेका छन् ।
पौडेल समूहले बनाएको खाकामा डा. शशांक भने कुनै पदमा अटाएका छैनन् । शेखरलाई उपसभापति बनाउन प्रस्ताव गरेका पौडेलले शशांकलाई के बनाउने भन्ने छलफल समेत आफ्नो समूहमा गरेका छैनन् । नेता पौडेलले एउटा महामन्त्री डा. मिनेन्द्र रिजाल र अर्को महामन्त्रीमा युवा नेता गगन थापालाई उम्मेदवार बनाउने गरी छलफल जारी रहेको एक नेताले बताए ।