देउवा निवासमा नेताहरूको चर्काचर्की, शर्माले भने- यस्ता वाहियात काम नगर्नुस्
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आफ्नो निवास बुढानिलकण्ठमा बोलाएको बैठकमा पार्टीका नेताहरू आपसमा बाझाबाझ गर्दै समय बिताएका थिए । बैठकमा महाधिवेशनका साथै सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गरिने भनिएपनि नेताहरू भने कसले विरोध गर्ने र कसले समर्थन गर्ने भन्नेमै अल्झिए ।
बैठकमा भएको छलफलमा सचिवालयले देउवाको प्रशंसामा बनाएको भिडियोको विषयमा बहस नै भएको थियो । नेताहरू आपसमा लामो बहसमा उत्रिएपनि देउवाले भने यस विषयमा आफूलाई केहि थाहा नभएको बताएका थिए । भिडियो कसले र किन बनाएको भन्ने कुरा आफूलाई जानकारी नभएको देउवाले बताएका थिए ।
पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नुअघि बुधबार साँझ आफ्नो निवास बूढानीलकण्ठमा आफ्नो पक्षका नेताहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री एवम् सभापति देउवाले सरकार संचालनको विषयमा समेत सुझाव लिन चाहेका थिए तर नेताहरूले भिडियोको कुरा निकालेरै छलफल प्रभावकारी हुन नपाएको एक नेताले बताए ।
एक नेताले देउवा बैठकमा महाधिवेशनका साथै सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्ने भनिएको तर विषयवस्तु अन्तै मोडिएको उनले बताए । महाधिवेशन, सरकारका कामकारबाही, खोपलगायतका विषयमा आआफ्ना कुरा नेताहरूले राखेका थिए । छलफलकै क्रममा नेता प्रकाशशरण महतले भने देउवाको प्रशंसामा बनाइएको भिडियो राम्रो भएको बताएका थिए । उनले अझै यस्ता काम गर्नुपर्नेमा आफ्नै पार्टीका नेताहरूले विरोध गरेकोमा रोष प्रकट गरेका थिए ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले भने यस्ता वाइयात कुरा नगर्न र जनताको भावना बुझ्न आग्रह गरेका थिए । ‘खोप लगाउने र भोक मेटाउने बेलामा तथ्य तोडमोड गरेर भिडियो बनाएर ठुलो काम हुँदैन, यो भिडियो बनाएर बस्ने समय पनि होइन’ नेता शर्माले भनेका थिए । नेता खड्काले यस्तो समयमा बनाइने भिडियोले राम्रो सन्देश नजाने बताएका थिए। उनले यस्ता काम गर्नेहो भने ओली र देउवामा फरक नहुने बताएका थिए ।
नेताहरूले भिडियोको बारेमा बताउँदा प्रकाशशरण महतले भने भिडियो राम्रो रहेको तर त्यसमा विरोध आवश्यक नरहेको बताएका थिए। ‘पार्टी भित्रैबाट सामाजिक संजालमार्फत् प्रधानमन्त्रीबारे बनेको राम्रो भिडियोका विषयमा असन्तुष्टि जनाइएको छ’ आक्रोशित भावमा महतले भनेका थिए।
नेता खड्काले देउवाको जीवन नै देश र पार्टीका लागि काम गरेका व्यक्ति भएकाले भिडियो बनाइरहन आवश्यक नरहेको र राम्रो काम गरे भिडियो जनताले नै त्यस्ता भिडियो बनाइदिने बताएका थिए । भिडियोको विषयमा नेताहरू बाझाबाझ गरेपछि बैठकमा केहीबेर माहोल तात्तिएको थियो ।