नेकपा नेतृत्वलाई दोस्रो तहका नेताहरूले हस्तक्षेप गर्ने जनार्दन शर्माको संकेत - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

नेकपा नेतृत्वलाई दोस्रो तहका नेताहरूले हस्तक्षेप गर्ने जनार्दन शर्माको संकेत



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीमा दोस्रो तहका नेताहरूले हस्तक्षेप गर्ने संकेत गरेका छन् । उनले नेकपा पार्टी नफुट्ने दावी समेत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन र फुटाउन दिइँदैन ।’

नेकपाभित्रको विवादलाई सिमित नेताहरुको समस्याको रुपमा मात्र नहेर्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताएका छन् ।

पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको शर्माको बुझाइ छ । दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु नहुने उनको भनाइ छ ।

‘पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने शर्माले बताए । ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई छैन,’ शर्माले लेखेका छन् ।

एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न शर्माले नेताहरूलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण पछिल्लो समय नेकपाभित्र विवाद उग्र बनेको छ । ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठकमा समेत ओलीको चर्को आलोचना भएको थियो । बैठकमा ओलीको प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ ।

यही विवादका कारण ओली एकातिर र अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ नेता अर्कातिर भएका छन् । पार्टीभित्र विवाद उग्र रुप लिँदै विभाजनको रेखा कोरिँदै गएको सन्दर्भमा नेताहरुबीच सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला आजका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।