विश्वप्रकाशले गरे प्रधानमन्त्री देउवाको आलोचना - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

विश्वप्रकाशले गरे प्रधानमन्त्री देउवाको आलोचना



काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कदमको विरोध गरेका छन् । सामाजिक संजालमार्फत शर्माले आलोचना गरेका छन् ।

सचिवालयले तयार गरेको भिडियो श्रृंखला ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने…’माथि आलोचना गर्दै अहिले भिडियो बनाउने समय नभएको भन्दै उनले प्रधानमन्त्री देउवाको सचिवालयलाई ध्यानाकर्षण समेत गराएका छन् ।

साथै प्रधानमन्त्रीलाई अहिले सही सल्लाह दिनुपर्ने बेला भएको र काम राम्रो भए जनताले आफैँ भिडियो बनाउने शर्माको सुझाव छ । “प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैँले बनाउने छन् भिडियो, नत्र पार्टीले बनाउला !” नेता शर्माले भनेका छन् ।

सरकारको कामलाई फूल रोप्नुसँग तुलना गर्दै शर्माले फूल रोपेर गोडमेल गरे सुवास प्रकृतिले आफैँ फैलाउने टिप्पणी गरे । उनले ट्वीटरमा लेखेका छन्, “पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौँ, सुवास प्रकृतिले पछि फैलाउँछ । ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु । जय नेपाल !”

प्रवक्ता शर्माले यसअघि अर्को ट्वीटमा पनि सरकारलाई सुझाव नै दिएका थिए । प्रधानमन्त्रीको प्रचार शैलीमाथि टिप्पणी गर्दै उनले यसअघि पनि प्रचार भन्दा काममा ध्यान दिन सुझाव दिएका थिए ।

“खोपदेखि भोटसम्मको यो यात्रा तीन तहको निर्वाचन मार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ । जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ ! परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन्” उनले भनेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भिडियो श्रृंखला ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने…’ लाई लिएर सामाजिक सञ्जालमा छोटो समयमै तिब्र रुपमा आलोचना र टिप्पणी हुन थालेको छ। विदेशी नेताहरुको शैलीबाट प्रभावित भएर यस्तो भिडियो प्रशारण गरिएको भन्दै देउवाको व्यंग्य समेत गरिएको छ ।