धरानमा बस दुर्घटना : ३ को मृत्यु, ९ घाइते
काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका–८ पानी ट्यांकीमा गएराति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।
कोसी राजमार्ग धरानबाट इटहरीतर्फ जाँदै गरेको मे १ त ६६९२ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको बा २० च ४०७६ नम्बरको कार ट्र्याक्टरको चक्कामा ठोक्किएको थियो। त्यसपछि अनियन्त्रित भएको ट्रयाक्टर नालीमा पल्टेको थियो। पुन: सो कार अनियन्त्रित भई खनारबाट धरान जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा समेत ठोक्किन पुगेको थियो।
उक्त दुर्घटनामा कारका चालक सुन्दरहरैचा नगरपालिका–४ बस्ने ४५ वर्षका गोविन्द बस्नेत, इटहरी उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय अनिल श्रेष्ठ, धनकुटा बस्ने २७ वर्षका जनक बुढाथोकी र तत्काल ठेगाना नखुलेका २८ वर्षीय मदन लिम्बू गम्भीर घाइते भएका थिए।
उनीहरुलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कार चालक बस्नेतबाहेक अन्य ३ जनाको उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
गम्भीर घाइते कार चालकलाई थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको छ।
घाइते भएका ट्र्याक्टरमा सवार झापा चन्द्रगढी नगरपालिका– ६ बस्ने २२ वर्षीय दिलकुमार राजवंशी, मोरङ रंगेली नगरपालिका–२ बस्ने १७ वर्षीय विनोद कार्की र भद्रपुर नगरपालिका–८ बस्ने २२ वर्षीय कृष्ण राजवंशीको धरानमा उपचार भइरहेको छ।
साथै बसमा सवार धरान उपमहानगरपालिका–१८ बस्ने बस्ने ३० वर्षीया चन्द्रा राई, धरान–११ बस्ने २२ वर्षीया प्रभा राई, धरान–१७ बस्ने ३० वर्षीया सुक्रीकला राई, ३४ वर्षीया शारदा राई र ३५ वर्षीया पवित्रा बिष्टको धरानकै उपचार गरिएको थियो।
सुक्रीकला राईबाहेक अन्य ४ जना डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। तीनवटै सवारी साधन र ट्र्याक्टर र बसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।
फाइल तस्बिर