‘सरकार कर्तव्यच्युत हुदै जाँदा जनतामा आक्रोश बढ्यो’
काठमाडौँ – नागरिकहरुको स्वास्थ्य उपचारप्रति उदासिन सरकार कर्तव्यच्युत हुदै जाँदा सरकार के को लागि भन्ने आक्रोश बढ्दै गएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।
कोरोना संक्रमित परिक्षण र उपचार नागरिक आफैले गर्नुपर्ने सरकारको निर्णय गैरजिम्मेवार एवं संवेदनहीनताको पराकाष्ठा भएको समेत समाजले बताएको छ ।
सरकारको यस्तो कदमले जनतामा आक्रोश पैदा हुँदै जानेप्रति गम्भीर हुन पनि समाजले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
संक्रमण व्यापक हुँदै गएको र मृत्यदरसमेत बढ्दै गएको यस गम्भीर परिस्थितिमा उपचारका लागि अत्यावश्यक आइसियु, भेन्टिलेटरसहितका अस्पतालहरुको संख्या वृद्धि गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको विषयमा पनि समाजले सरकारको ध्यानाकर्षण गराएको छ।
‘लकडाउनको चपेटामा परि आर्थिकरुपमा जीर्ण हुँदै गएको नागरिकहरुको जीवनयापनका लागि हरसम्भव राहतका प्याकेज ल्याउनुपर्नेमा स्वास्थ्य उपचारको समेत जिम्मेवारी नलिने निर्णय गरि सरकारले चरम गैरजिम्मेवारीपन प्रस्तुत गरेको छ’, समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको स्वास्थ्य, शिक्षा र जीवनयापनका सवालमा गम्भीर भई आवश्यक प्रबन्धसहितको व्यवस्था गर्न सरकारलाई मानव अधिकार तथा शान्ति समाज पुन विशेष आग्रह गर्दछ ।’
कोभिड–१९ संक्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्क तवरमा व्यापक विस्तार गर्नुपर्ने, संक्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र संक्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित मापदण्ड अवलम्बन गर्नुपर्नेमा सरकार दिनप्रतिदिन फितलो हुँदै गएको देखिएको विज्ञप्तिमा भनिएको छ।