बझाङकी पहिलो हलो जोत्ने महिला शान्ति पुजाराको दसैँ दलित बस्तीमा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बझाङकी पहिलो हलो जोत्ने महिला शान्ति पुजाराको दसैँ दलित बस्तीमा



गणेश विक/बझाङ: नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष शान्ति बोहरा पुजाराले यस वर्षको दसैँ दलित समुदायसँग मनाउनु भएको छ ।

समाजमा विद्यमान सामाजिक भेदभावलार्इ अन्त्य गर्न आफूले यस वर्षको दसैँ दलित समुदायसँग मनाएको उहाँले बताउनुभयो । उहाँ सानैदेखि सामाजिक परिवर्तन गर्नुपर्ने विचारधाराकी हुनुहुन्छ । उहाँ बझाङको पहिलो हलो जोत्ने महिलाका रूपमा पनि चिनिनुहुन्छ ।

२०४४ सालमा बुबा नरपति बोहराको निधनपछि घरको कामको जिम्मा उहाँको काँधमा आएको थियो । उहाँले २०४५र४६ सालदेखि हलो जोत्न सुरु गर्नुभएको थियो । खेलकुद, राजनीति, महिला सशक्तीकरण र सामाजिक परिवर्तनमा सक्रिय शान्ति एक एकल महिला पनि हुन् ।

उहाँले खेलकुद क्षेत्रमा पनि थुप्रै योगदान दिनुभएको छ । आफ्नो जीवनकालमा ४ वटा राष्ट्रिय २१ वटा क्षेत्रीय प्रतियोगितामा भलिबल, सटपुट लगायतका खेलबाट प्रथम स्थान हासिल गरी प्रमाण(पत्र हात पारिसक्नु भएको छ ।

सुर्मास्थित गैरीगाउँमा उहाँले यस वर्षको दसैँ मनाउनु भएको छ । धार्मिक आस्था र जातीय छुवाछुतले ग्रस्त बझाङ्गी समाज त्यसमाथि सुर्मा सरोबर क्षेत्र जातीय छुवाछुत सबैभन्दा अगाडी छ ।

सुर्मामा देवीको स्थान भएकाले जुत्ता, चप्पलसमेत लगाएर हिँड्न मिल्दैन । यस्तो ठाउँमा सहजै अनुमान लगाउन सकिन्छ दलितलार्इ कुन दृष्टिले हेर्छन् होला र उहाँ पुजारा परिवारको सदस्य भएकाले दलित बस्तीमा दसैँ जस्तो महान् पर्व मनाउँदा समाजले हेर्ने दृष्टि झन् कति कठोर होला ।

उहाँ सामाजिक परिवर्तन चाहने र शिक्षित परिवार जन्मनुभएकाले यी सबै कुरालार्इ सामान्य रूपमा लिएर दलित बस्तीमा जानुभयो र खानपिन र टिका टालोमा व्यस्त हुनुभयो । उहाँले दलितसँग दसैँ मनाएपछि सुर्मावासीमध्येमा कतिले अब दलित नै हो भने कतिले राम्रो सुरुवात भन्दै प्रोत्साहन दिए ।

उहाँले गैरीगाउँमा निवासी करण दमाई र दीपक दमाईको घरमा दसैँ मनाउँदा कतिले थुइ थुइ गरे होलान् रु यो उहाँले कहिल्यै सोच्नु भएन बरु समाजलार्इ चुनौती दिँदै सबैको घर( घरमा पुगी मासु भात खाँदै टिका जमरा पहिर्‍याउनुभयो । २१ औँ शताब्दीमा आइपुग्दा पनि सुर्माबासी दलितको शरीरमा छुइँदा समेत पानी र गहुँत चोख्याउने गर्दछन् ।

शान्ति पनि देवीकै पूजा गर्ने पुजारा परिवारकी सदस्य हुन् । तर उनले माइती र कर्मघर दुवै घरमा सोधेर दलित बस्तीमा दसैँ मनाएको बताउनु भयो  । उहाँका परिवारका सदस्य सुर्मा भित्र अरूभन्दा शिक्षित भएकाले स्वीकार गरेको बताउनुभयो ।