प्रचण्डलाई शान्ता चौधरीको 'काउन्टर' - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रचण्डलाई शान्ता चौधरीको ‘काउन्टर’



काठमाडौं- नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डमाथि काउन्टर गरेकी छन् ।

प्रचण्डले नेकपा खारेज हरेर माओवादी केन्द्र पुनर्स्थापना गरेको मुद्दामा पुनरवलोकन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि नेकपा एमाले ओली पक्षबाट एकपछि अर्काे नेताले प्रश्न/प्रतिक्रिया प्रकट गरिरहेका छन्।

सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज, एमाले–माओवादी केन्द्र पुनर्स्थापना गरिएको फैसलाविरुद्ध तत्कालीन नेकपाका अध्यक्ष एवं हाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वोच्च गएका थिए ।

बुधबार बिहान एमाले नेतृ शान्ता चौधरीले पनि विरोध जनाएकी हुन्।चौधरीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘क. प्रचण्ड, अदालतले पार्टी एकता गरि दिने हो र? साँच्चै एकीकृत पार्टी निर्माण गर्न चाहेको भए पार्टी एकताका आधारभूत कामहरू गर्नुपर्ने थियो, देशव्यापी संगठन निर्माणमा लाग्नुपर्ने थियो, अहिले आएर अदालतको दैलोमा अहिले जानै पर्दैनथ्यो।’

उनले अगाडि लेखेकी छन्, ‘उतिबेला आफ्नो पद र स्वार्थभन्दा माथि उठ्न सकेको भए र एकतालाई जोगाउने प्रयास गरेको भए अर्कै माहोल सिर्जना हुने थियो। कमरेडले एकताको मर्मविपरीत गतिविधि गर्नुभयो त्यतिबेला। अबचैं अदालतको दैलोमा गएर के गर्नु? आत्मआलोचित हुनुहोस र नया ढंगले देश र जनतालाई केन्द्रमा राखेर एकताको प्रयत्न गर्नुहोस्।!

प्रचण्डले सर्वाेच्चमा निवेदन दिनासाथ मंगलबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका थिए भने उनै पक्षका एमाले नेता शंकर पोखरेलले पनि साँझ सामाजिक सञ्जालमार्फत प्रचण्डलाई प्रश्न गरेका थिए।