सत्ता छाडेर सडकमा आउन शान्ता चौधरीको चुनौती - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सत्ता छाडेर सडकमा आउन शान्ता चौधरीको चुनौती



काठमाडौं : नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले कि सत्ता छाड्न कि सडक छाड्न अनुरोध गरेकी छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै उनले दोहोरो चरित्रको पराकाष्ट भएको धारणा राखिन्। उनले सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी चाहिने भन्दै प्रश्न गरेकी छन् । उनले भनिन्, ‘सत्ता, सडक र सदन सबै चाहिने एकैचोटी? दोहोरो चरित्रको पराकाष्ट भयो, कि सत्ता छाड्नुस् कि सडक, राजनीतिकै बेइजत भयो।’

पछिल्लो समय देशमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्ता गठबन्धनभित्र ठूलो विवाद चर्किएको छ। यसको पक्ष र विपक्षमा धेरैले आ-आफ्ना किसिमका तर्क गरेका छन्। प्रचण्ड र देउवाले एमसीसी बोर्डलाई एमसीसी पास गर्ने प्रतिबद्धतासहित गोप्य रुपमा पत्र पठाएपनि पत्र सार्वजनिक भएपछि पुन: एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय संसदीय बैठकबाट गराएका छन्।

प्रतिनिधिसभा बैठक झन्डै दुई महिनामा बुधबार बस्यो। तर, एमसीसी टेबल भएन। सत्ता गठबन्धनकै दलका ‘अप्रत्याशित’निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन्। प्रधानमन्त्री देउवाले अमेरिकी निकायसँगको अनुदान सम्झौता अनुमोदनमा लैजान गठबन्धनका दलले सहयोग गर्ने ‘विश्वास’ लिएका थिए। त्यही कारण कार्यव्यवस्था परामर्श समिति बैठक राख्न सभामुखलाई भनेका थिए। एमसीसी बुधबारै अघि बढाउने ‘माहोल’ बनाउन लागेका थिए देउवा। तर, गठबन्धन दल माओवादी केन्द्रले एमसीसी जबर्जस्ती पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गर्‍यो।

सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बिहीबार डाकेका छन्। उनी अनुदान सम्झौता अनुमोदन गर्न दृढ देखिएका छन्। तर, माओवादी केन्द्रसहित एकीकृत समाजवादी र अरू दल एमसीसी पारित गर्न नहुने अडानमा छन्। जसपाले पनि बोली फेरेको छ। परिमार्जनबिना एमसीसी पारित गर्न नहुने धारणा जसपाका नेताहरूले व्यक्त गरेका छन।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार भएको छलफलमा एमसीसी संसद्मा पेस हुने र सहयोग गर्न आग्रह गर्दा दाहाल र नेपाल सकारात्मक देखिएका थिए। तर, माओवादी केन्द्रको बुधबार एमसीसीको विरुद्धमा गठबन्धन भित्रकै दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाका नेता/कार्यकर्ता सडक प्रदर्शनमा उत्रेका छन्।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले भने लगातार संसद् बैठकमा अवरोध गर्दै आएको छ।