संक्रमित सांसद शान्ता चौधरीले भनिन, 'बाँच्छु जस्तै लागेको थिएन' - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

संक्रमित सांसद शान्ता चौधरीले भनिन, ‘बाँच्छु जस्तै लागेको थिएन’



काठमाडौं- नेकपा नेतृ तथा सांसद शान्ता चौधरीमा कोरोना संक्रमण भएपछि१९ दिन अस्पतालमै बिताएकी छन् ।

उनलाई कोरोना संक्रमण भएपछि सामान्य होम आइसोलेसनमा बसेर नहुने अवस्था भयो ।
चौधरीले अस्पतालमा पूरै १९ दिन बिताइन । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले निकै कठिन अनुभव संगालेको जनाइन । आफ्नो कोरोना अनुभूति बाँढ्दै उनले भनेकी छिन्, ‘बाँच्छु जस्तै लागेको थिएन ।’

यस्तो छ सांसद चौधरीको कोरोना संक्रमण अनुभूति-

जोगिने कति नै कोशिस गर्दा पनि आखिर कोरोनाले आक्रमण गरिछाड्यो । पूरै १९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न सकिंदैन। पहिलेदेखिका गम्भीर रोगहरुको कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ ।
पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकोले पनि बाँच्छु जस्तै लागेको थिएन । यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु । आज कोरोना नेगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ ।

वीर अस्पत्तालका अति सघन उपचार कक्षको बेडमा बडो मुश्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थेँ । बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो। तर म हजारौं शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसुस गर्थें। यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ।

अझै म डिस्चार्ज भएकी छैन । यसैबीचमा बाफ लिंदा तातो पानीले खुट्टा पोलेर अर्को असह्य पीडा थपिएको छ । त्यसैले कोरोनामुक्त भएपनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ ।
मैले लाखलाख धन्यवाद दिनुपर्ने पार्टीका श्रध्देय कामरेडहरू हुनुहुन्छ। मेरा समर्थक, शुभचिन्तक र नातागोताहरू हुनुहुन्छ। उहाँहरूलाई अहिले एकमुष्ट धन्यवाद दिन्छु। वीर अस्पत्तालका सबै डाक्टरहरू, मेरो सेवामा अहोरात्र खटिने नर्सहरू र समस्त अस्पत्ताल परिवार प्रति म कृतज्ञ छु।

उहाँहरुले मृत्यूको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो। बेलाबेलामा हौसला दिइरहनु भयो। विशेष विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें। उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला ।

अन्तमाः सबै सबैमा धेरै आधार व्यक्त गर्न चाहन्छु। अस्पत्तालबाट विदा हुँदाको दिन फेरि लेखुँला। विजया दशमीको सबैमा शुभकामना दिन चाहन्छु। कसैका परिवार पनि यो समयमा अस्पताल बस्नु नपरोस्। अस्पताल खोज्दै हिंड्नु नपरोस् । हामी सबैमा यो कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्न शक्ति मिलोस् । धन्यवाद।