शंकर पोखरेलको राजिनामा माग्ने तयारी
वुटवल- विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा माग्ने तयारी गरेका छन् । आजै बोलाइएको प्रदेशसभाको बजेट अधिवेशन सुरू हुनु अगाडी नै उनको राजिनामा नागने तयारी भएको हो ।
बजेट अधिवेशन दिउँसो १ बजेका लागि बोलाईएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
आजको बैठक शुरू भएपछि सत्ता बाहिर रहेका नेपाली कांग्रेस , माओबादी केन्द्र, जसपा र जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।
बहुमतको अवस्थामा नहुँदा पनि नेकपाका नेता पोखरेललाई प्रदेश प्रमुखले नियुक्ती गरेको भन्दै विपक्षीदलले यसको बिरोध गर्दै राजीनामा माग्ने बताएका छन् ।
गएको बैशाख ६ गते विपक्षी ४ दलले अविश्वासको प्रस्ताव प्रदेशसभमा दर्ता गरेका थिए । तर मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै पदबाट राजीनामा दिएका थिए ।
सोही दिन पोखरेलले बहुमत पुर्याएको दाबी गर्दै प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए । दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भए पनि प्रदेश प्रमुखले त्यसको औचित्य नभएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएका थिए ।
लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालीन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।