त्रासले निदाउनै छाडे शंकर पोखरेल
काठमाडौं- कर्णाली प्रदेशको घटनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिलखबन्दमा परेका छन् । उनी निकटका केहि व्यक्तिले हिजो आज उनी बेचैन बनेको बताउने गरेका छन् । त्यतिमात्र होइन पोखरेललाई निद्रा समेत लाग्न छाडेको छ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिन एमालेकै सांसद हरूले आफू कारबाहीमा परेर पनि फ्लोर क्रस गरेको देखेपछि पोखरेललाई निद्रा नलाग्ने समस्या भएको बताइन्छ । एकातिर दलहरूले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनको तयारी गर्ने अर्कातिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशदेखि केन्द्रसम्मका सरकार परिवर्तन गर्ने अभियान नै चलाएको सार्वजनिक गर्नुले पोखरेल त्रसित बनेका छन् ।
कर्णाली घटनापछि पोखरेल त्रसित बनेको र निद्रा हराएको सामाजिक सञ्जालले समेत पुष्टि गर्छ । तीन दिनको अन्तरालमा मध्यरातमा उनले धेरैखाले स्टाटस लेखेर त्यसको छनक दिएका छन् । पहिलो दिन उनले पार्टी नेतृत्वकै कारण समानान्तर गतिबिधि भैरहेको र त्यसको नतिजा कर्णाली प्रदेशको जस्तै हुने बताउँदै समयमै सचेत हुन अपील गरेका छन् ।
त्यसलगत्तै उनले कर्णालीमा एमालेका सांसदहरूले ह्विप उल्लङ्घन गरेर राजनीतिक अपराध गरेको बताएका थिए । उनले एउटै पार्टीमा बसेर गरिने संसदीय ह्विप उलंघन गम्भीर राजनीतिक अपराध भएको बताएका थिए ।
त्यसलगत्तै प्रचण्डको भाषणपछि उनले त्रास ब्यक्त गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार पनि फेर्न आफू लागिपरेको भन्ने सार्वजनिक भाषण गरेपछि मुख्यमन्त्री पोखरेलले उनको नाम नलिईकन त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र बन्ने बताएका छन् ।
ओलीपक्षीय एमाले नेता पोखरेलले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्की समेत दिन्छ, त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र बन्न सक्छ।’ यसबाट उनी प्रचण्डको भनाइले त्रसित भएको बुझिन्छ।