संकटमा शंकर: बैठक बहिस्कार गर्ने शंकर पोखरेलको तयारी
रुपन्देही- नेकपा एमाले लुम्बिनी प्रदेशले प्रदेश सभाको बैठक बहिस्कार हर्ने संकेत गरेको छ । बिहान बसेको संसदीय दलको बैठकमा यस्तो छलफल भएको बुझिएको छ ।
अविश्वासको प्रस्ताव र राजीनामाको विषयमा छलफल गर्न बसेको बैठकले कुनै निर्णय गरेको छैन । तर बहिस्कारको बारेमा भने छलफल भएको बताइएको छ । बैठक बहिस्कार गर्ने एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समेत संकेत गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भूमिश्वर ढकालले विशेष अधिवेशन चल्न दिने/नदिने बारेको सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिइएको जानकारी दिए ।
प्रदेश प्रमुख र प्रदेश सभाले विधि र प्रक्रियाविपरीत संसद अधिवेशन आह्वान गरेको बताउँदै ढकालले आजको बैठक चल्ने नचल्नेबारे केही भन्न नसकिने अवस्थामा रहेको बताए ।
‘अहिलेसम्म कार्य परामर्श समितिको बैठक बसेको छैन, हामीलाई कुनै जानकारी गराइएको पनि छैन ।’ ढकालले आजको संसद् बहिस्कार हुनसक्ने संकेत गरे ।