राजीनामा दिएपछि खुल्यो रहस्य: हतारमा बैठक डाकेर पोखरेलले गरेका थिए यस्ता निर्णय - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

राजीनामा दिएपछि खुल्यो रहस्य: हतारमा बैठक डाकेर पोखरेलले गरेका थिए यस्ता निर्णय



काठमाडौं- सत्ताच्युत हुने पक्का भएपछि हतारमा मन्त्रिपरिषद्को बैठक डाकेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भटाभट निर्णय गराएको खुलेको छ । केहि महत्वपूर्ण निर्णय गरेलगत्तै उनले राजीनामा दिएका थिए ।

राजीनामा दिनु केही घण्टा अघि मन्त्रिपरिषद बैठक राखेर पोखरेलले महत्वपूर्ण निर्णय गरेको स्रोतले बताएको छ । पोखरेलले आफू नेतृत्वको सरकार ढल्ने पक्का भएपछि दुरगामी प्रभाव राख्ने निर्णय गरेका छन् ।

हतारमा बोलाइएको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई पदबाट हटाएको छ । खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सरुवा गर्दै डा. ईन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसुमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहान बसेको मन्त्रिपरिषद बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । त्यस्तै बैठकले आसुलेन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

त्यतिमात्र होइन मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद परिषदको सदस्य मनोनयन र प्रादेशिक अस्पतालका मेसु परिवर्तन समेत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्नुका साथै उद्योग मन्त्रालयको सेवा तथा दस्तुरको शुल्कमा दररेट पनि स्वीकृत प्रदान गरेको सरकारका मन्त्री चौधरीले बताए ।