शारदा भुसालले फर्काइन शंकर पोखरेलको मुख बन्द हुने जवाफ - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

शारदा भुसालले फर्काइन शंकर पोखरेलको मुख बन्द हुने जवाफ



काठमाडौं – अहिले बजारमा पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको बिषयमा चर्चा चलिरहेको छ । यहि पुरस्कार र सम्मानका कारण कैयौं व्यक्ति विवादमा तानिएका छन् ।

उक्त पुरस्कार र सम्मानमा यसपटक छानिएका नामकै कारणले चर्चा र सहारना कमाइरहेको पद्मश्री पुरस्कार नै नराम्ररी विवादमा परेको छ ।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले आकस्मिक बैठक बसेर पुरस्कार स्थगित गरिसकेको छ। सामाजिक सञ्जाल र साहित्य जगतमा यसबारे बहस भने चलिरहेकै छ।

पूर्वशिक्षामन्त्री समेत रहेका नेकपाका नेता साहित्यकार मोदनाथ प्रश्रितमाथि गम्भीर आरोप लागेकोले सञ्जिव उप्रेतीले पुरस्कार अस्वीकार गरेका कारण साहित्य जगतमा तरङ्ग नै मच्चिएको छ । शारदा भुषालले प्रश्रितमाथि गम्भीर आरोप लगाएकी थिइन् । उनले किताव नै निकालेर प्रश्रितले गरेको कुकर्म सार्वजनिक गरेकी थिइन्।

यसैलाई आधार मानेर उप्रेतीले पुरस्कार अस्वीकार गरेपछि नेकपाका एकाथरी नेता/कार्यकर्ता प्रश्रितको प्रतिरक्षामा उत्रिएका छन् भने नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले समेत प्रश्रितको खुलेरै बचाउ गरेका छन् । तर उनले बचाउमा लेखेका शब्द भने उनका लागि प्रत्युत्पादक बनेका छन् ।

प्रश्रितको प्रतिरक्षामा उत्रिएका पोखरेलले शारदा भुसाललाई मात्र होइन संजिव उप्रेतीको समेत अपमान गरे ।

शारदा भुसालले लगाएको संगिन आरोपको खिल्ली उडाएपछि शंकर पोखरेलविरुद्ध अहिले सामाजिक संजालमा युद्ध नै चलेको छ। प्रयोगकर्ताहरू उनीविरुद्ध खनिएका छन् ।

मुख्यमन्त्री पोखरेलले लेखेको स्टाटस माथि स्वयं भुसाल पनि आक्रमणमा उत्रेकी छन् । उनले मुख्यमन्त्री पोखरेलको मुख नै बन्द हुनेगरी जवाफ फर्काएकी छन् ।

भुसालले जवाफ फर्काउँदै शंकर पोखरेल पनि उनीमाथि भएको अपराधको साक्षी भएको बताएकी छिन्। उनले लेखेकी छन्, ‘बुटवल लगायतका ठाउँहरूमा विजय सभा हुँदा कतिपय ठाउँमा हजुरसँग पनि भेट भएको थियो। त्यतिबेला मलाइ प्रश्रितले हात समातेर लगेका हुन्थे। कहिले सोध्ने प्रयास गर्नु भो? यी नानी को हुन? किन हजुरसँग छिन् भनेर?,’

पोखरेलको स्टाटसमा शारदाले उनी अपराधको साक्षी भएको दाबी गरेपछि पोखरेल र उनका समर्थक जवाफबिहिन बनेका छन् ।